Banijya News

दसैँमा बजारमा थपियो झन्डै १ खर्ब रुपैयाँ, नगद प्रवाहमा यस वर्ष असामान्य वृद्धि

1
1.0K Shares

बडादसैँको अवसरमा यस वर्ष नेपाली बजारमा झन्डै १ खर्ब रुपैयाँ थप नगद प्रवाह भएको छ । दसैँको खर्च, लामो सार्वजनिक बिदा, बाढीपहिरोबाट सिर्जित अवस्था तथा राहत र पुनर्निर्माणसम्बन्धी खर्चका कारण बजारमा चलनचल्तीको नगद उल्लेख्य रूपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक अनुज दाहालका अनुसार अहिले बजारमा कुल चलनचल्तीको मुद्रा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । असोज १ गतेसम्म कुल चलनचल्तीको मुद्रा ८ खर्ब ४ अर्ब रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकका विभिन्न कार्यालयमा रहेको रकम कटाउँदा त्यस दिन बजारमा रहेको खुद चलनचल्तीको मुद्रा ७ खर्ब ९७ अर्ब रुपैयाँ थियो ।

हाल खुद चलनचल्तीको मुद्रा बढेर करिब ८ खर्ब ९५ देखि ९६ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ । यस आधारमा दसैँको अवधिमा मात्रै बजारमा ९७ देखि ९८ अर्ब रुपैयाँ थपिएको देखिन्छ । विगतका वर्षमा दसैँका बेला सामान्यतया ३५ देखि ५० अर्ब रुपैयाँसम्म नगद थपिने गरेकोमा यस वर्षको वृद्धि निकै उच्च हो ।

साना दरका नोटको माग पनि उच्च

दसैँमा दक्षिणा, पूजाआजा तथा अन्य धार्मिक कार्यका लागि प्रयोग हुने ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोटको माग पनि उल्लेख्य देखिएको छ । कार्यकारी निर्देशक दाहालका अनुसार बिहीबारसम्म १५ अर्ब १३ करोड रुपैयाँ बराबरका साना दरका नोट सटही भइसकेका छन् । दसैँको अन्त्यसम्म यो रकम साढे १५ अर्बदेखि १६ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान छ ।

राष्ट्र बैंकको थापाथलीस्थित काउन्टरबाट मात्रै दैनिक ५ करोडदेखि १२ करोड रुपैयाँसम्मका साना दरका नोट सटही भएका थिए । संख्याका आधारमा ५ रुपैयाँ दरका नोट सबैभन्दा धेरै बजारमा गएको देखिएको छ । दक्षिणा दिँदा १०५, ५०५ र १००५ रुपैयाँजस्ता रकम दिने प्रचलनका कारण यस्तो नोटको माग बढेको हो । तर, कुल रकमका आधारमा भने १०० र ५० रुपैयाँ दरका नोटको हिस्सा बढी रहेको छ ।

नगद माग बढ्नुका मुख्य कारण

कार्यकारी निर्देशक दाहालका अनुसार यस वर्ष लामो सार्वजनिक बिदाका कारण सर्वसाधारणले दैनिक खर्चका लागि आवश्यक नगद पहिले नै जोहो गरेका छन् । बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा लामो यात्रा गर्ने यात्रुहरूले पनि अनिश्चिततालाई ध्यानमा राखेर बढी नगद बोकेका छन् ।

त्यस्तै, नुवाकोट, रसुवालगायत प्रभावित क्षेत्रमा सहकारी, पसल तथा घरमा राखिएको नगद बगाएको वा क्षति पुगेको अवस्थाले पनि बैंकबाट पुनः रकम झिक्ने क्रम बढाएको छ । विपद्पछि राहत वितरण तथा पुनर्निर्माणमा भएको खर्चले समेत नगद प्रवाह बढाएको राष्ट्र बैंकको अनुमान छ ।

यसैबीच, एटीएमबाट एक हजार रुपैयाँका नोटको सट्टा ५०० रुपैयाँका नोट बढी निस्कने गरेको गुनासोबारे दाहालले बजारमा नगद अभाव नरहेको स्पष्ट पारेका छन् । बैंकहरूलाई ५०० रुपैयाँ दरका सफा तथा नयाँ नोट पर्याप्त उपलब्ध गराइएको उनको भनाइ छ ।

1

Scroll to Top