कृषि बैंकमा ३४ करोड रकम घोटाला अभियोगमा बैंकका शाखा अधिकृत सहित ८ जनाविरुद्ध मुद्दा दायर
०९ मंसिर, २०७६, काठमाण्डौ । कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ गैरकानुनी रुपमा निकालेर हिनामिना गरेको अभियोगमा कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा प्रबन्धक भरतबहादुर बानियाँ र शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनिहरुले नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई बैंकको ‘कोर बैंकिङ सिस्टम’ को दुरुपयोग गरेर रकम निकालेका थिए ।
अख्तियारले गौतम, उनकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, उक्त बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ, सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा र सन्दीप गुप्ताविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हानी नोक्सानी भएको बिगो असुलउपर हुनुपर्ने माग दाबीसहित मुद्दा चलाएको छ । गौतम र बानियाँसमेतका ब्यक्तिहरुले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ रकम निकाली बैंकलाई हानिनोक्सानी र्पुयाएको अख्तियारले जनाएको छ ।
बैंकमा कार्यरत गौतम र पन्तले आफ्नो पासवर्ड प्रयोग गरी उल्लेखित खातामा देशभित्रकै कृषि विकास बैंकका विभिन्न १७ वटा शाखाबाट रकम आएको देखाइ बदनियतरुपमा रकम जम्मा गर्ने गरेका थिए । जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मङ्गलबजार, न्यूरोड, रत्नपार्कलगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रेलगायतका अन्य सात वटा बैंकमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटकरपटक कुल ३३ करोड ८२ लाख ५७८ भुक्तानी लिई बैंकलाई हानी र्पुयाएको अनुसन्धानबाट खुलेको थियो ।
आरोपित व्यक्तिहरुले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिकृया दिनुहोस्