सिद्धार्थ बैंकको चेक किर्ते गर्ने व्यक्ति बल्खुबाट पक्राउ
१७ माघ, २०७६, काठमाडौं ।
सिद्धार्थ बैंकको चेक किर्ते गरी रकम निकाल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएका ५६ वर्षीय सन्तोष घिमिरे रहेका छन् । घिमिरे काठमाडौं महानगरपालिका १४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यालय सचिवको रुपमा कार्यरत छन् ।
उनले कार्यालय सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ठगी गरेका थिए । घिमिरेले उक्त चेकमा ६७ हजार नौ सय १६ रुपैयाँलाई अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार नौ सय १६ रुपैयाँ बनाई उक्त रकम निकाली फरार भएको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी निज घिमिरेको खोजी कार्यमा जुटेको थियो ।
उनलाई बल्खुबाट पक्राउ गरी उनको कोठामा लुकाइराखेको अवस्थामा नगद १८ लाख रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
प्रतिकृया दिनुहोस्