July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

‘यो सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : पूर्वअर्थमन्त्रीहरु

‘यो सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : पूर्वअर्थमन्त्रीहरु


काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नहुने बताएका छन् । पूर्वअर्थमन्त्री मञ्चको बैठक बसेर पूर्वअर्थमन्त्रीहरुले बहुमतको सरकार नरहेको, कामचलाउ सरकार रहेको, संसद् पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुन लगायतको बैंठक बसी कमचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् ।


‘विश्वव्यापी मान्यता र प्रचलनबमोजिम पनि यस्तो अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने विषयलाई बैठकले जोड दिएको पूर्व मञ्चद्धारा प्रेसित विज्ञप्तिमा भनिएको छ । सरकारले अध्यादेशबाटै जेठ १५ मा पूर्ण बजेट ल्याउने तयारी गरेको समय पूर्वअर्थमन्त्रीहरुको यस्तो धारणा आएको हो । अर्थमन्त्रालयका कर्मचारीले संविधानमा संसद् विघटनको अवस्थामा कसरी बजेट ल्याउने कतै नलेखेको समय पूर्ण बजेटको तयारी गर्दे आएका छन् । यही समय पूर्णअर्थमन्त्रीहरुले पूर्ण बजेट ल्याउन नमिल्ने बताएपछि नयाँ तरङ्ग पैदा भएको छ ।


पूर्वअर्थमन्त्रीहरुले अध्यादेशमार्फत बजेट ल्याउनैपर्ने बाध्यता भए नियमित खर्च मात्रै गर्ने गरी कामचलाउ बजेट ल्याउन सुझाव दिएका छन् । देश कोभिड–१९ का कारण आक्रान्त भएको हुँदा बजेटले कोरोनाविद्धको खोपको उपलब्धतालाई पहिलो प्राथमिकता दिई नागरिकलाई सुरक्षित बनाउन सुझाव दिइएको जनाइएको छ । स्वास्थ्य पूर्वाधारहरुको निर्माण, स्वास्थ्य सामग्रीहरुको उपलब्धता एवम् स्वास्थ्यकर्मीहरुको सुरक्षा र सुविधाहरुलाई बजेटले विशेष ध्यान दिनुपर्ने सुझाव उनीहरूले दिएका छन् ।