April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

अर्थमन्त्रीले बालुवाटारबाटै जेठ १५ मा बजेट सार्वजनिक गर्ने

अर्थमन्त्रीले बालुवाटारबाटै जेठ १५ मा बजेट सार्वजनिक गर्ने

जेठ १३, काठमाडौं ।
संसद विघटनपछि आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कसरी आउला भन्नेमा चासो बढेको छ । यसैक्रममा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्री निवास बालुवाटारबाटै सार्वजनिक गर्ने तयारी गरेको छ । जेठ १५ गते बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्नेछन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमकाबीच आउन लागेको बजेटमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन्छ वा दिँदैन भन्नेमा आम मानिसहरुको चासो बढिरहेको छ ।

Advertisement

चालू आर्थिक वर्षमा पनि सरकारले ठूलो बजेट ल्याउने तयारी गरिरहेको छ । सरकारले आगामी आवमा १७ खर्ब हाराहारी आकारको बजेट ल्याउने तयारी गरिरहेको हो । चालू आर्थिक वर्षको भन्दा करिब १५ प्रतिशत ठूलो आकारको बजेट बनिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । चालू आवमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

Advertisement

स्रोतका अनुसार सवा ११ खर्ब हाराहारी राजस्व परिचालन, दुई खर्ब ३० अर्ब हाराहारी आन्तरिक ऋण र तीन खर्ब ४० अर्ब हाराहारी बाह्य ऋण परिचालन गर्ने स्रोत अनुमानसहित बजेट बनिरहेको छ । चालू आवमा सरकारले १० खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्न सक्ने देखिन्छ । यसलाई आधार मान्दा सरकारले आगामी आर्थिक वर्षका लागि चालू आवको वास्तविक खर्चभन्दा करिब ५४ प्रतिशत बढी हुने गरी ठूलो आकारका बजेट ल्याउन लागेको देखिन्छ ।

पौने १५ खर्बको बजेट, ११ खर्ब मात्रै खर्च हुने अनुमान चालू आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब रुपैयाँबराबरको बजेट ल्याएको छ । तर, हालसम्मको खर्च प्रवृत्तिलाई हेर्दा सरकारले बजेटको ७४ प्रतिशत हाराहारी मात्रै खर्च गर्न सक्ने देखिन्छ । गएको वैशाखको एक महिनामा सरकारले कुल एक खर्ब ३४ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ ।

आगामी दुई महिनामा यही दरमा खर्च भए कुल खर्च १० खर्ब ९३ अर्ब पुग्ने देखिन्छ । सरकारले चालू आर्थिक वर्षमा ल्याएको बजेट गत आवको वास्तविक खर्चभन्दा तीन खर्ब ८३ अर्ब ५१ करोड रुपैयाँले बढी हो । गत आवमा सरकारले कुल १० खर्ब ९३ अर्ब खर्च गर्न सकेको थियो । तर, वास्तविक खर्चभन्दा करिब ३५ प्रतिशत बजेट बढाएर चालू आवको बजेट ल्याइएको थियो । गत आवमा सरकारले अघिल्लो आवको वास्तविक खर्चभन्दा चार खर्ब २५ अर्ब रुपैयाँ बढी आकारको बजेट ल्याएको थियो ।