July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

जेठ २५, काठमाडौं ।
नेपालमा भित्रिने विदेशी लगानीलाई राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ ल्याउँदै यस्तो व्यवस्था गरेको हो ।

विदेशी लगानी (एफडिआई) भित्र्याउने सम्बन्धि स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋण बापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गर्न बैंकले सो विनियमावली ल्याएको हो ।
योसँगै अब विदेशी लगानी बापत आउने विदेशी मुद्राका लागि बैंकसँग स्वीकृति लिइरहनु नपर्ने भएको छ । यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानीबापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग÷कम्पनीको खातामा जम्मा गर्नेछ ।

हाल विदेशी लगानी सम्बन्धी झन्झटिलो प्रावधान तथा व्यवधानका कारण विदेशी लगानी उल्लेखनीय मात्रामा आउन नसकेको भन्दै विदेशी लगानी आकर्षण गर्नकै लागि सरकारले यस्तो नीति लिएको देखिन्छ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी बैंकले यस्तो विनियमावली ल्याएको जनाएको छ ।