July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रतिपक्ष दलका तर्फबाट नेपालीको दाबी

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रतिपक्ष दलका तर्फबाट नेपालीको दाबी

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रतिपक्ष दलले नाम बुझाएका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बहुमत सदस्यको नाम सहित मुख्यमन्त्रीको दावी पेश गरेका हुन् । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दावी पेस गरेका छन् ।

६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे गरी ३१ जनाको समर्थन जुटेको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउँ भन्ने प्रस्तावमाथि बिहीबार प्रदेश सभामा मतदान भएको थियो । गुरुङको प्रस्तावमा बहुमत प्राप्त नभएपछि उनी स्वतः पदमुक्त भएका छन् । त्यसपछि नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएकोमा प्रतिपक्षले नाम बुझाएका हुन् ।