July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

विश्व बैंकले उच्च शिक्षाको गुणस्तर सुधारका लागि ७ अर्ब सहयोग गर्ने

विश्व बैंकले उच्च शिक्षाको गुणस्तर सुधारका लागि ७ अर्ब सहयोग गर्ने

काठमाडौँ । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब नेपाली रुपैयाँ सहायताको घोषणा गरेको छ ।

विश्व बैंकले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको बोर्ड अफ डाइरेक्टरको बैठकले सो रकम अनुमोदन गरेको जानकारी दिएको हो । बैंकले अनलाइन सिकाइमा जोड दिन र विपन्न वर्गका विधार्थीमा शिक्षाको पहुँच पुर्याउन सो सहयोग गरेको  विश्व बैंकद्वारा जारी वक्तव्यमा उल्लेख गरेको छ । कोरोनाभाइरस महामारीले दक्ष जनशक्ति निर्माणको आवश्यकतालाई महसुस गराएको छ’ बैंकको नेपाल निर्देशक फरिस हडाड जर्भोसले भनेका छन्, ‘कोभिड–१९ महामारीबाट नेपालको आर्थिक पुनउत्र्थानका लागि आवश्यक श्रमशक्ति जुटाउन पनि शैक्षिकरुपमा दक्ष जनशक्ति बनाउनु जरुरी छ ।’

उक्त सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउन पुर्‍याउने आशा पनि विश्व बैंकले व्यक्त गरेको छ । यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित गर्नु रहेको समेत जनाइएको छ ।

बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका निर्देशक फरिस हदाद जर्भोसले भने कोरोना महामारीले दक्ष जनशक्ति निर्माणको आवश्यकतालाई महसुस गराएको बताउदै महामारीका बेला नेपालमा गुणस्तरीय शिक्षाको पहुँचमा सुधार ल्याउन र श्रम बजारमा आवश्यक रहेको दक्ष जनशक्ति निर्माण गर्न यस सहयोगले भूमिका खेल्ने बताएका छन् ।