July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

रोजगारीमा जाने ६० प्रतिशतले कमी हुँदापनि रेमिट्यान्समा सुधार, भित्रियो ८ खर्ब १० अर्ब रेमिट्यान्स

रोजगारीमा जाने ६० प्रतिशतले कमी हुँदापनि रेमिट्यान्समा सुधार, भित्रियो ८ खर्ब १० अर्ब रेमिट्यान्स

जेठ ३१, काठमाडौं ।

चालु आर्थिक वर्षको १० महिनामा ८ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार  वैशाख मसान्तसम्म ८ खर्ब ९ अर्ब ८९ करोड रेमिट्यान्स भित्रिएकाे हो ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा ६ खर्ब ८० अर्ब ८४ करोड रेमिट्यान्स आएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको यही अवधीमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति  लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४९.० प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो । खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.९ खर्ब ३ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।