July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

जसपाका दुबै अध्यक्षले एक अर्कालाई गरेको कारवाही खारेजी (पूर्णबिवरण सहित)

जसपाका दुबै अध्यक्षले एक अर्कालाई गरेको कारवाही खारेजी (पूर्णबिवरण सहित)

काठमाडौं, जेठ ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुबै अध्यक्षले एक अर्कालाई गरेको कारवाही खारेजी गरेको छ ।
आयोग पदाधिकारीको आइतबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम प्रकृया पूरा नभएको भन्दै एक अर्काले गरेको कारवाहीलाई अमान्य ठहर गरेको हो ।

एउटै दलका एक अर्को अध्यक्षबाट पदाधिकारीलाई पार्टीका सदस्यसमेत नरहने गरी हटाएको वा निष्काशन गरेको कार्य पदाधिकारीको हेरफेरको विषयअन्तर्गत पर्ने नदेखिँदा दुवै पक्षको निवेदन माग अद्यावधिक गर्न कानूनत मिल्ने नदेखिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आयोगको आजको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो ।

एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन आयोगले आफ्नो फैसलामा भनेको छ ।

पार्टीभित्र पदाधिकारी हेरफेर भएको नभई दुईपक्षीय विवाद देखिएको निर्वाचन आयोगको ठहर छ । पदाधिकारीको हेरफेर शब्दावलीले पदाधिकारीको निश्कासनसम्मको अर्थभाव सुस्पष्ट रुपमा प्रकट गर्दैन र पदाधिकारीको हेरेफेरलाई पदाधिकारीको निष्काशनसम्मको अर्थ जानिने गरी सो शब्दको प्रयोग भएको भन्ने विधायिकी मनसायसमेत कानून व्याख्याको सन्दर्भमा उचित र ग्राह्य देखिँदैन– आयोगले भनेको छ ।
पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्का समूहका पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने निष्काशन गरी सोको अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए ।

अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रिय कार्यकारीणी समितिको जेठ १७ गते बैठकले पार्टी विधान, निर्णय र नीति विपरित कार्य गरेको जनाउँदै अध्यक्ष ठाकुर, सदस्यत्रय राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णसमेत चार जनालाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरेको दलको दर्ता कितावबाट नाम हटाई अध्यावधि गरिदिन जेठ १८ गते आयोग समक्ष निवेदन दिएको थियो ।