March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

मेलम्चीको पानी आउन बन्द, पानी वितरणको तालिका फेरियो

मेलम्चीको पानी आउन बन्द, पानी वितरणको तालिका फेरियो

जेठ ३१, काठमाडौं ।

Advertisement

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही दिन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका फेरिएको छ । चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो ।  अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ ।

Advertisement

प्राविधिकरूपमा वर्षायाम शुरु हुनुअघि नै सुरुङ खालि गरी निरीक्षण गर्ने, आवश्यक सुधारका कार्य गर्ने र पुनः पानी भर्ने कार्यहरु प्रारम्भ गर्नुपर्ने भएकाले असार १ बाट खानेपानी वितरणको तालिका फेरिएको  बताइएको छ।

सो अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले  खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ। नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ ।

केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।
बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सैबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने भएको छ । सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइने केयुकेएलले जनाएको छ ।