July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

सेयर बजारमा सामान्य करेक्सन, १६ अर्ब ५२ करोडको कारोबार

सेयर बजारमा सामान्य करेक्सन, १६ अर्ब ५२ करोडको कारोबार

असार १, काठमाडौं ।

लगातार बढेर दैनिक जसो रेकर्ड बनिरहेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ।  आज नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा झरेको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ऐतिहासिक ३०२५.८३ विन्दुमा पुगेको थियो।

नेप्सेमा आज १६ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कूल २२६ वटा कम्पनीका तीन करोड नाै लाख ४८ हजार ८५३ कित्ता सेयर एक लाख ६४ हजार ७९० पटक खरिद-बिक्री भएका थिए।

आज  बैंकिङ ६, ब्यापार ११, विकास बैंक २२२, जलविद्युत ९०, फाइनान्स ८६, निर्जीवन बीमा १, माइक्रोफाइनान्स ३९ र जीवन बीमा १० अंकले घटेका छन्। होटल तथा पर्यटन ५८, उत्पादन ७२, अन्य ९० र लगानी समूह २ अंकले बढेका छन्।

यस दिन  सिइडिबी हाइड्रोपावर, खानीखोला र युनियन हाइड्रोपावरको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेको छ। ओरेन्टल होटल र जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य ५.८ प्रतिशतले बढेको छ। छ्याङ्दी हाइड्रोपावर ७.६ तथा लिबर्टी इनर्जीको मूल्य ७ प्रतिशतले घटेको छ।

त्यस्तै बरुण हाइड्रोको ६.९, श्रीइन्भेष्टमेन्ट फाइनान्सको मूल्य ६.५ प्रतिशतले घटेको छ। आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ७६ करोड ३० लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। सङ्ख्यात्मक आधारमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका ११ लाख ९२ हजार ११३ कित्ता सेयर किनबेच भएका थिए।