April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

निर्माण समाग्रीको मूल्यमा मनलाग्दीबृद्धि, किन बढ्यो मूल्य ?

निर्माण समाग्रीको मूल्यमा मनलाग्दीबृद्धि, किन बढ्यो मूल्य ?

दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणको महामारीपछि सरकारले गरेको निधोषज्ञाका कारण अर्थतन्त्रका सम्पूर्ण क्षेत्र ठप्प भएका छन् । निषेधाज्ञाले सबैजसो क्षेत्र ठप्प रहेका समय निर्माण क्षेत्र केही चलायमान छ । तर, यहीसमय मौका छोपेर उद्योगी ब्यापारीले निर्माण सामग्रीको चर्को मूल्यवृद्धि गरेका छन् । उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका कारण अहिले सिमेन्ट र फलामे डन्डीको मूल्य ‘दिन दुईगुणा रात चौगुणा’ आकासिएको छ ।

Advertisement

डेढ महिनाअघि निषेधाज्ञा जारी नहुँदासम्म काठमाडौँमा फलामे डण्डी प्रतिकिलो ८० देखि ८६ रुपैयाँमा पाइन्थ्यो । अहिले २४ देखि ३० रुपैयाँसम्म भाउ बढाइएको छ । प्रायः सबै ब्रान्डका डण्डी र सिमेन्टले मूल्य बढाएका छन् । बिशेषत जेठ २१ देखि निषेधाज्ञा केही खुकुलो भइ निर्माण क्षेत्र चलायमान हुन थालेपछि उद्योगीले आफूखशी भाउ बढाएको पाइन्छ । डण्डी मात्र होइन, गिटी, बालुवा र सिमेन्टको मूल्य पनि बढाइएको छ । सिमेन्ट प्रतिबोरा ७ सय ५० देखि ८ सय ५०, डन्डी प्रतिकिलो १ सय ४ देखि १ सय १६ र एक नम्बर इँटा प्रतिहजार साढे १७ हजारदेखि १८ हजार रुपैयाँमा किनबेच भइरहेको छ । सरकारी नियमन ठप्पजस्तै रहेकाले व्यापारीले मनोमानी रुपमा भाउ बढाएका हुन् ।
निषेधाज्ञाअघि घर बनाउन सुरु गरेकाहरु यही समय सिमेन्टको मूल्य प्रतिबोरा ५० देखि एक सय बिस रुपैयाँसम्म बढेको बताउँछन् ।
डेड महिनाको समयमा सिमेन्ट र फलामे डन्डीको मूल्य पाँचपटकसम्म बढाए र पठाएको खुद्रा ब्यापारी बताउँछन् । ब्यापारीले आफूखुसी मूल्यबढाउँदा कोरोनाको महामारीमै आम उपभोक्ता मूल्यबृद्धिको मारमा परेको उनीहरुको दाबी छ ।

Advertisement

विगत वर्षायामको मुखमा निर्माण सामग्रीको मूल्य घट्थ्यो । विद्युतको पर्याप्त उपलब्धताले उत्पादन बढी हुने तर विकास निर्माणका काम कम हुने भएकाले उद्योगीले भाउ घटाउने गरेका थिए । तर यसपालि ठीक उल्टो भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बिलेटको मूल्य बढेको भन्दै फलामे डन्डीको मूल्य पनि बढाइएको उद्योगीले बताउँदै आएका छन् । यसले नेपालमा निर्माणका कामको लागत पनि बढाएको उत्पादकको दाबी छ । डण्डी उत्पादनका लागि चाहिने कच्चा पदार्थ अन्र्तराष्ट्रिय बजारमा नै महँगो भएपछि केही रुपियाँ बढ्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने डण्डी उत्पादकहरु बताउँछन् ।

डण्डी उत्पादक साहिल अग्रवालले भने, ‘यो पटक अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य बढेर आएकोले ठूलो असर परेको हो ।’
उपभोक्ता अधिकारकर्मीले भने बजार अनुगमन प्रभावकारी नहुँदा यसको असर डण्डी र सिमेन्टमा देखिएको बताएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले सरकारका नियमन गर्ने जिम्मेवार निकायको बजारमा सक्रियता नभएकै कारण व्यापारीले हरेक सामानमा ‘कार्टेलिङ’ गरेर मनपरी भाउमा बिक्री गर्ने गरेको र यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको आरोप लगाएका छन् ।

व्यक्तिगत निर्माणमा संलग्न उपभोक्ताहरु त यसको मारमा पर्ने नै छन् भने सरकारले पहिलेकै मूल्यमा दिएका ठेक्काको लागत पनि बढ्ने भएको छ । यस्को असर निमार्ण ब्यावसायीलाई पर्ने भएको छ । निर्माण लागत बढ्दा यसै त बजेटभन्दा बाहिर गएर खर्च गर्न नसक्ने अवस्थामा पुगेको सरकारका लागि ठूलो धक्का हुने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् ।

आयातित औद्योगिक कच्चा पदार्थमा भएको मूल्यवृद्धि, त्यसअनुरुप पर्ने उत्पादन लागत र उत्पादित वस्तुको मूल्यवृद्धिबारे विश्लेषण गरी मूल्य समायोजन गर्नेतर्फ सरकारी निकाय उदासीन छन् । उद्योग एवं थोक बिक्रेताको मिलेमतोमा सिमेन्ट र फलामे डन्डीको मूल्यवृद्धि गरेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बताएको छ । तर बजार अनुगमनको लागि कुनैपनि टोली बनाएको छैन् । व्यापारीको मनोमानी बढेपनि बजार अनुगमनमा सरकारी निकाय कानमा तेल हालेर बस्दा आम उपभोक्ता भने मूल्यबृद्धिको रापमा परेका छन् ।