July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

पूर्वप्रधानमन्त्री खनाल दिल्ली प्रस्थान

पूर्वप्रधानमन्त्री खनाल दिल्ली प्रस्थान

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।  उनको परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि अस्पतालले डिस्चार्ज गरेको हो । उनी बुधबार साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली प्रस्थान गरेका हुन् ।  मिर्गौलामा समस्या देखिएपछि दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइने पारिवारिक स्रोतले जानकारी दिएको छ । नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो ।

यसअघि गत माघमा स्वास्थ्यमा समस्या आएपछि खनाल उपचारका लागि दिल्ली पुगेका थिए। त्यतिबेला पनि उनको एपोलोमा स्वास्थ्य परीक्षण गरिएको थियो । खनालको पारिवारिक स्रोतका अनुसार मिर्गौलामा समस्या देखिएपछि एपोलोमा उपचार गराउने गरी लागिएको हो ।

उनीसँग श्रीमती, छोरा र एकजना चिकित्सक पनि दिल्ली गएका छन्। यसअघि खनाललाई कोरोना संक्रमण भएको थियो।  त्यसबेला पनि उनको उपचार नर्भिकमै गरिएको थियो। उनमा पोस्ट कोभिड समस्या पनि देखिएको चिकित्सकहरुले बताएका छन्।