July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

प्रारम्भिक अध्ययनमै धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि धितोपत्र बोर्डको चौतर्फी विरोध

प्रारम्भिक अध्ययनमै धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि धितोपत्र बोर्डको चौतर्फी विरोध

असार २, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि यसको व्यापक आलोचना भएको छ । विज्ञप्तिप्रति लगानीकर्ताका छाता संगठनले आपत्ति जनाएका छन् । बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले बोर्डको विज्ञप्तिप्रति असहमति जनाएका हुन ।

५१ वटा कम्पनीको लगानीकर्ता डुबे को जिम्मेवार हुने भन्दै लगानीकर्ताले प्रश्न गरेका हुन् । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले ५१ वटा कम्पनीको नामै तोकेर जोखिम छन् भन्नु गलत रहेको बताए । बोर्डले तोकेका धेरै कम्पनी राम्रो रहेको उनले बताए । सूचीकृतमध्ये करिब २० प्रतिशत कम्पनीबारे बोर्डले दिएको अभिव्यक्तिले बजार प्रभावित पार्न खोजिएको उनको भनाई रहेको छ ।

यस्तै गम्भीर अध्ययन र प्राविधिक विश्लेषणबिना जोखिम सूची निकालेर बोर्डले सर्वसाधारणको लगानीमाथि खेलवाड गरेको आरोप लगानीकर्ताले लगाएका छन् । सेबोनले मंगलबार आन्तरिक अध्ययनको हवला दिदै विभिन्न ५१ कम्पनीको सेयरमा लगानी गर्नु असुरक्षित हुने भन्दै उनीहरूलाई जोखिमको सूचीमा राखेको छ । सेबोनको जोखिम सूचीमा वित्तिय अनुशासन कायम गरेका र हरेक वर्ष लोभलाग्दो लाभांश वितरण गरेका उत्कृष्ट कम्पनी परेका छन् ।

सेयर बजारमा चलखेल गर्न क्रियाशिल एउटा गिरोहको डिजाइनमा बोर्डले सूची तयार गरेको आरोप लगानीकर्ताले लगाएका छन् ।यस बारेमा सेबोनले विज्ञहरूसँग छलफल तथा सम्बन्धित कम्पनीहरूसँग परामर्श गरेको छैन । बोर्डको यो कदमबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) समेत स्तब्ध भएको छ । यसबारेमा अर्थमन्त्रालयले समेत गम्भीर चासो लिएको छ । पुँजी बजारको उत्साहपूर्ण माहोललाई बिथोलेर बजार घटाउने र राम्रा कम्पनीका सेयर सस्तो भाउ कब्जा गर्ने सुनियोजित योजनाअनुसार यो कदम चालिएको आरोप लागेको छ ।

कतिपय जलविद्युत कम्पनीहरु निर्माणकै चरणमा रहेको र समयावधि पनि बाँकी नै भएकाले त्यस्ता कम्पनीलाई समेत समावेश गरेर जोखिम देखाउनु गलत रहेको उनिहरुको भनाई रहेको छ आवश्यक पूर्वाधार बनाउन र विस्तार गर्न छाडेर कम्पनी जोखिम भए÷नभएको हेरेर बस्नु नियामकीय व्यवस्थाबाहिरको विषय रहेको लगानीकर्ताको बुझाई छ । सोझा र नयाँ लगानीकर्ताको नाममा नियामक नै क्षेत्राधिकारबाहिर गएको लगानीकर्ताको आरोप छ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले भने आफूहरुले कम्पनीको अवस्था मात्रै जानकारी गराएको बताउँछन् ।