July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

सिन्धुपाल्चोकमा बाढीको बितण्डा : ५० बढी बेपत्ता, हर्जनै घर र रिसोर्ट बगायो

सिन्धुपाल्चोकमा बाढीको बितण्डा : ५० बढी बेपत्ता, हर्जनै घर र रिसोर्ट बगायो

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आएपनि यकिन विवरण आइनसकेको बताएका छन् । उनले ठूलै क्षति भएको रिपार्ट आएपनि हालसम्मको क्षति यकिन भै नसकेको बताए ।

बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने नदी तटीय क्षेत्रमा भएका रिसोर्ट तथा ईको रिसोर्ट गरी आधा दर्जन रिसोर्ट बगाएको छ ।

बाढीका कारण नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । त्यसैगरि दोलालघाटका केही पक्की पुल समेत बगाएको बताइएको छ ।

अविरल वर्षासँगै विद्युत् अवरुद्ध भएकाले स्थानीयसँग सम्पर्क गर्न कठिनाइ भएको जल्ला समन्वय समिमितिले जनाएको छ । यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ ।

मेलम्ची बजारसहित मेलम्ची र इन्द्रावती नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो । अहिले उद्दारकार्य जारी छ ।

तस्बिर : सामाजिक संजाल