नेपाली श्रमिक धेरै रहेका देशहरुमा हवाइ उडान पुनः सञ्चालन गर्ने सरकारको निर्णय
असार ३, काठमाडौं ।
सरकारले नेपाली श्रमिक धेरै रहेका देशहरुमा हवाई उडान पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । हिजो बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया लगायतका देशहरूमा हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतार, टर्की र चीनबाट सरकारले सातामा एक उडान सञ्चालन गरिरहेको छ । यी देशहरूबाट हप्तामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
यस्तै बैठकले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले होटल क्वरेण्टीनमा बस्न नसक्नेहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको स्वास्थ्य मन्त्री तामाङले जानकारी दिए । समितिको बैठकले १५ दिन होटल क्वरेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।
सरकारले खाडीका देश र मलेसियाबाट श्रम गरी फर्कने नेपालीका लागि ५ दिन होटल क्वरेण्टीन अनिवार्य गरेको छ । तोकिएको समयमा घर फर्कन नपाउँदा कतिपय श्रमिक गन्तव्य देशमा नै जरिबानामा पर्ने अवस्था सृजना भइसकेको छ । तर सरकारको यो निर्णयले समस्यामा परेका श्रमिकलाई राहत पुग्ने छ ।
यस्तै गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोगस्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।
प्रतिकृया दिनुहोस्