March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

शेयर बजारमा तीव्र उतारचढाव, कारोबार १० अर्ब ९० करोडमा सीमित

शेयर बजारमा बिहीबार तीव्र उतारचढाव देखिएको छ । बजार खुलेको केही समयपछि नै नेप्से तिव्र गतिमा ओरालो लागेको थियो । त्यस्को केही समयपछि नै पुनः तीव्र बढेको नेप्से फेरि ओरालो लाग्यो । त्यसपछि बजार पुनः उकालो लागेर करिब ३००० विन्दु नजिक पुगेको नेप्से, साढे १ बजेपछि पुनः ओरालो लागेको थियो । बजारमा बिहीवार कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ ।

Advertisement

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेसँगै शेयर बजारमा कारोबार ह्वात्तै घट्न र बढ्न थालेको हो । बिहीबार १० अर्ब ९० करोड रुपैयाँ बराबरका दुई करोड तीन लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ । बुधबार १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको दुई करोड ८२ लाख कित्ता शेयर कारोबार भएको थियो । यस दिन बैंकिङ १०, ब्यापार १४, जलविद्युत २, उत्पादन ११ र माइक्रोफाइनान्स ६४ अंकले घट्यो।

Advertisement

त्यस्तै होटल तथा पर्यटन ३६, विकास बैंक ९४, फाइनान्स ३३, निर्जीवन बीमा ५२, अन्य २६ र जीवन बीमा १५ अंकले बढेको छ। यस दिन खानीखोल हाइड्रोको मूल्य ६ प्रतिशतले बढ्यो। त्यस्तै नेपाल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक र सोल्टी होटलको मूल्य ५ प्रतिशतले बढ्यो।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रकम ७७ करोडको कारोबार भएको छ। कम्पनीको मूल्य भने ३ प्रतिशतले बढेको छ। त्यस्तै नेसनल हाइड्रोपावरको ३० करोड तथा नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड बराबरको कारोबार भयो।