July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

उद्योगमा वैदेशिक लगानी ४० प्रतिशतले घट्यो, २६ अर्ब भित्रियो

उद्योगमा वैदेशिक लगानी ४० प्रतिशतले घट्यो, २६ अर्ब भित्रियो

पछिल्लो समय नेपालको उद्योग क्षेत्रमा वैदेशिक लगानी घट्दै गएको छ । चालू आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) को अवधिमा प्रत्यक्ष विदेशी लगानीमार्फत उद्योग क्षेत्रमा आउने लगानी रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत ले कमी आएको उद्योग विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) को अवधिमा प्रत्यक्ष विदेशी लगानीमार्फत २६ अर्ब एक करोड ९१ लाख रुपैयाँ भित्रिएको उद्योग विभागले जानकारी दिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा विदेशी लगानीकर्ताहरूले एक सय ८७ वटा उद्योग स्थापना गर्ने भन्दै ४३ अर्ब ९९ करोड ८८ लाख विभागबाट स्वीकृत गराएका थिए  ।

११ महिनाको अवधिमा सबैभन्दा बढी लगानी पर्यटन, सेवा, उत्पादन, सूचना प्रविधि, कृषि, वनजन्य र ऊर्जाजन्य उद्योगका लागि लगानी स्वीकृत गराइएको छ । उनीहरूले दुई अर्ब ८३ करोड ५६ लाख उत्पादन, एक अर्ब तीन करोड सूचना प्रविधि, १५ अर्ब ९३ करोड ८५ लाख पर्यटन, पाँच अर्ब ५३ करोड ५० लाख सेवा,५६ करोड कृषि तथा वनजन्य र १२ करोड ऊर्जाजन्य उद्योग स्थापना, १५ अर्ब ९३ करोड ८५ लाख पर्यटन, पाँच अर्ब ५३ करोड ५० लाख सेवाको लागि लगानी स्वीकृत गराएका छन् ।

त्यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा विदेशी लगानीकर्ताहरूले सबैभन्दा बढी ऊर्जा, सूचना तथा प्रविधि, पर्यटन, सेवा, उत्पादन र कृषि तथा वनजन्य उद्योगको लागि लगानी स्वीकृत गराएका थिए । ११ महिनाको अवधिमा सबैभन्दा बढी लगानी चिनियाँ र त्यसपछि क्रमशः ब्रिटिश भर्जिन आइसल्याण्ड, अमेरिका, भारतलगायतका मुलुक रहेको विभागले जनाएको छ ।