July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री पोखरेलले लिए विश्‍वासको मत

गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री पोखरेलले लिए विश्‍वासको मत

असार ४, काठमाडौं ।

गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्‍वासको मत लिएका छन् ।  मुख्‍यमन्‍त्री पोखरेलले शुक्रबार प्रदेश सभा बैठकमा विश्‍वासको मत लिएका हुन् । प्रदेश सभामा उपस्‍थित ५८ सांसदमध्ये ३१ जनाले पोखरेललाई विश्‍वासको मत दिए भने २७ सांसदले विपक्षमा मतदान गरे।

विश्वासको मत पाएसँगै नेपाली नेतृत्वको सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने बाटो खुलेको छ भने मन्त्रिपरिषद विस्तार कार्यविभाजनका लागि पनि बाटो खुलेको छ। मुख्यमन्त्री नेपालीले विश्वासको मत लिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने र कार्यविभाजन गर्ने घोषणा गरेका थिए। उनले विश्वासको मत पाएसँगै २०७९ सम्मको बाँकी कार्यकाल यो सरकार टिक्ने सम्भावना देखिएको छ।

नेपालको संविधान धारा १६८(५) अनुसार मुख्यमन्त्री भएको व्यक्तिले मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । गत बैशाख २९ गते संसद्को‍ ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि जेठ २९ मा नेपाली नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका पोखरेल विपक्षी गठबन्‍धनका तर्फबाट मुख्यमन्त्री नियुक्‍त भएका थिए ।

६० सदस्यीय प्रदेश सभामा ३१ प्रदेश सभा सदस्यको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए । प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद छन् ।

यसअघि एमाले नेतृत्वको सरकार विश्वास मत नपाउँदा ढलेको थियो। तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको विश्वासको मतको पक्षमा २७ मतमात्र परेको थियो। देश संघीयतामा गएपछि बनेका ७ मुख्यमन्त्री मध्ये गुरुङ कार्यकाल पूरा नगरी सरकारबाट बाहिरिने पहिलो मुख्यमन्त्री हुन्। उता काँग्रेस नेतृत्वमा सरकार बनेको पनि पहिलो हो।