April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

मस्र्याङ्दीको भेलमा बग्दै मनाङका सुन्दर बस्ती

मस्र्याङ्दीको भेलमा बग्दै मनाङका सुन्दर बस्ती

लमजुङको सीमा म्यार्दी कट्नेबित्तिकै सडकको दायाँ पर्छ– मनाङ्को तालबजार । नासो गाउँपालिका–१ मा पर्ने तालबजारको सिरानतालमा बस्नुहुने डीलकुमारी गुरुङको घरबारी सबै मस्र्याङ्दीले बगाइसकेको छ । गुरुङको मात्रै होइन, सिरानतालका छवटा घर मस्र्याङ्दीले बगाएको छ ।

Advertisement

“यतिका वर्ष भयो । मस्र्याङ्दीमा बाढी त आउँथ्यो । यति ठूलो बाढी कहिल्यै देखेको थिइनँ,” ७८ वर्षीया गुरुङले भनिन् । भागेर ज्यान जोगाउन सफल गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो । जेठ ३१ गते रातिदेखि सुरु भएको वर्षाले भोलिपल्ट उग्र रूप लिएपछि सिरानताल सबै बगायो । नजिकै तालगाउँको ६२ घर पूरै डुबानमा परे ।

Advertisement

नासो गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले तालगाउँ पूरै डुबेर गाउँले घरबारविहीन भएको बताए। उनले भनिन्, “हाम्रो गाउँघर सबै बग्यो । अब कहाँ कसरी बस्ने ?”

मस्र्याङ्दीले धारापानीमा रहेको नासो गाउँपालिका–५ को कार्यालय, सीमा प्रहरी चौकी, प्रभु बैङ्क र प्राइम कमर्सियल बैङ्कको शाखा कार्यालयसँगै स्थानीयवासीका घर पनि बगाएको छ । चामेमा पारिपट्टिका पाँच घर डुबानमा परेका छन् ।

मनाङ जिल्ला प्रशासन कार्यालयका अनुसार ५३ घर पूर्ण रूपमा क्षति भएका छन् भने दुई सयभन्दा बढी घर उच्च जोखिममा छन् ।
चामेपारिकी मेलिना गुरुङले भनिन्, “बाढीले घरबार डुबायो । बारी सबै लग्यो । घरै छाडेर हिँड्नुपरेको छ । साह्रै मन रोएको छ ।”
पाँच परिवार तलेखुमा गएर बसेको उनले बताइन्।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार बाढीका कारण चामे बजारका घर जोखिममा छन् । घर र होटल बगाएको उहाँले बताए। “जोखिममा परेपछि सबैलाई माडाको कारागार भवनमा सारेको छु । बाढी अझै बढ्दै छ । हामी चिन्तामा छौँ,” उनले भने।

माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे क्षेत्रमा पहिरो गएकाले मस्र्याङ्दी नदी थुनिने र खोलिने क्रम चलिरहेको उनले बताए। हुम्डे क्षेत्रमा शनिबार दिउँसो आधा घण्टा मस्र्याङ्दी नदी थुनिएको थियो । पानीको सतह बढेका कारण चामेबाट माथिल्लो क्षेत्र जोड्ने पक्की पुल जोखिममा परेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले जानकारी दिए।

उनका अनुसार सडक भासिएका छन् । हुम्डे विमानस्थलको माथिल्लो क्षेत्रमा सडक जोखिममा परेको छ । मस्र्याङ्दीले तान्दै लगेपछि हिँड्ने बाटोसमेत नभएको उनले बताए।

हुम्डेको बस्तीमा समेत बाढी पसेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बाढी दिउँसो आएका कारण मानिस ज्यान जोगाउन सफल भएको बताए।

“बाढीले मानिसको ज्यान मात्रै लगेन, घरबार सबै लग्यो, खेतबारी बगायो,” उनले भने, “टेलिफोन, बिजुली, इन्टरनेट, खानेपानी, सडक, बेलिब्रिज, झोलुङ्गे पुल र हिँड्ने बाटोसमेत छैन ।”

नार्पाभूमिको फू गाउँदेखि दुई घण्टा पैदल यात्रामा पुगिने हिमालमुनिको कन्दरामा फसेका ५६ जनासहित बाढीमा फसेका १७४ जनालाई उद्धार गरेर सुरक्षित स्थलमा राखेको र २८ जनालाई काठमाडौँ पठाइएको उनले जानकारी दिए । गोरखापत्र दैनिकमा बेलिना थापाले खबर लेखेकी छन् ।