July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

क्षति धेरै गर्ने नयाँ प्रजातिको अल्फा, डेल्टा र कप्पा भेरिएन्ट नेपालमा पनि भेटियो

क्षति धेरै गर्ने नयाँ प्रजातिको अल्फा, डेल्टा र कप्पा भेरिएन्ट नेपालमा पनि भेटियो

नेपालमा फेरि कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनाबाट यो नयाँ म्युटेसन भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ । विज्ञप्ति निकाल्दै नेपालमा भेरिएन्ट अफ कन्सर्नका रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट तथा भेरिएन्ट अफ इन्टरेस्टका रूपमा कप्पा भेरिएन्ट (बी.६१७.१) पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट संकलित ४८ नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँदिल्लीस्थित डब्ल्यूएचओ आइडेन्टिफाइड सेन्टर फर एक्सिलेन्स इन जिनोमिक्स, द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टग्रेटिभ बायोलोजी (आईजीआईबी) मा सिक्वेन्सिङका लागि गत जेठ २७ गते पठाइएको थियो ।

तीमध्ये ४७ नमुनामा डेल्टा (बी.१.६१७.२) र एउटा नमुनामा अल्फा (बी.१.१.७) पुष्टि भएका हुन् । यस्तै डेल्टा पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन पुष्टि भएको हो, जसलाई एवाई.१ नाम पनि दिइएको छ ।