July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

लुम्बिनी प्रदेश सभाका चार सांसदको मुद्दामा २१ असारदेखि सुनुवाइ हुने

लुम्बिनी प्रदेश सभाका चार सांसदको मुद्दामा २१ असारदेखि सुनुवाइ हुने

असार ७, काठमाडौं ।
सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सभाका चार जना सांसदमाथि भएको कारबाहीमा २१ असारदेखि पूर्ण सुनुवाइ गर्ने भएको छ। सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको इजलासले २१ असारदेखि पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो।

पार्टी निर्देशन विपरीत मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएको भन्दै जसपाले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई कारबाही गरेको थियो। त्यसविरुद्ध चार जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

१ जेठमा दर्ता भएको निवेदनमाथि ३ जेठमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उक्त आदेशलाई निरन्तता दिने वा नदिने भन्नेबार निर्णय गर्न सर्वोच्चमा आज पेशी तोकिएको थियो। त्यस विषयमा कुनै निर्णय नै नदिई सर्वोच्चले २१ असारदेखि पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश गरेको हो।

आदेशमा भनिएको छ, ‘अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको देखिँदा रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइका लागि पेश गर्नू ।’

त्यतिन्जेलसम्म चारै जना मन्त्रीको सांसद पद भने जोगिएको छ। उनीहरूमाथि पार्टी ह्वीप विपरीत नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेको भन्दै जसपाले फेरि कारबाहीको प्रक्रिया शुरू गरिसकेको छ।