July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

यूरोपेली आयोगद्वारा आर्थिक पुनरुद्धार योजना स्वीकृत

यूरोपेली आयोगद्वारा आर्थिक पुनरुद्धार योजना स्वीकृत

असार ९, ब्रसेल्स । यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन लायनले यूरोपेली यूनियनमा आबद्ध तीन ओटा मुलुकको कोभिड–१९ आर्थिक पुनरुद्धार योजनालाई अनुमोदन गरेको बताएकी छन् ।

आयोगले कोभिड–१९ पश्चात् इटाली, जर्मनी र लाटभियाको आर्थिक पुनरुद्धार योजनालाई स्वीकृत गरेको हो । आयोगकी अध्यक्ष लायनले तीनै मुलुकको भ्रमण पनि गरेकी छन् ।

इटालीमा लायनले इटालीका प्रधानमन्त्री मारियो ड्रागीसँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री ड्रागीसँगको भेटपछि ट्वीट गर्दै लायनले इटालीका लागि ९० करोड अमेरिकी डलरको आर्थिक पुनरुद्धार योजना स्वीकृत गरेको बताएकी छन्।

यूरोपेली आयोगबाट सर्वाधिक ठूलो आर्थिक सहायता प्राप्त गर्नेमा इटाली रहेको छ । आयोगका अनुसार इटालीले अनुदान बापत ६८ दशमलव ९ अर्ब यूरो र ऋण बापत १२२ दशमलव ६ अर्ब यूरो प्राप्त गर्नेछ ।

यसैगरी जर्मनीले स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनको डिजिटलाइजेसनका लागि सहायता प्राप्त गर्नेछ । जर्मनीका चान्सलर एन्जेला मर्केलले जर्मनीले हाइड्रोजन, माइक्रोइलेक्ट्रोनिक्स, क्लाउड र डेटा प्रसेसिङका क्षेत्रमा लगानी बढाउने बताएकी छन् ।

आयोगकी अध्यक्ष लायनले लाट्भियाको आर्थिक पुनरुद्धार योजनाका बारेमा पनि घोषणा गरेकी छन् । गत वर्ष यूरोपेली यूनियनका नेताहरुले कोरोनाभाइरस महामारीको आर्थिक तथा सामाजिक असरलाई सम्बोधन गर्न व्यापक आर्थिक पुनरुद्धार कोष स्थापना गर्ने सहमति गरेका थिए । रासस/ सिन्ह्वा