April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

विश्व बैंकद्धारा कोभिडबाट प्रभावितहरुको संरक्षणको लागि १७ अर्ब ७८ करोड रुपैयाँ ऋण प्रदान

विश्व बैंकद्धारा कोभिडबाट प्रभावितहरुको संरक्षणको लागि १७ अर्ब ७८ करोड रुपैयाँ ऋण प्रदान

विश्व बैंकले कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवम् दिगो विकास हासिल गर्न उक्त ऋण सहयोग गरेको छ । बैंकले १५ करोड डलर बराबर ऋण सहयोग गरेको हो जुन रकम करिब १७ अर्ब ७८ करोड रुपैयाँ हुने छ ।
आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

Advertisement

यस आयोजनाले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालु ठुला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्ने छ ।

Advertisement

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले यो सम्झौता अन्तर्गत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवन दिन, आर्थिक गतिविधिलाई तिव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्नेगरी कार्यक्रम सञ्चालन गरिने बताए । चालु आर्थिक वर्षमै विनियोजन गरिएको पूर्वाधार निर्माण तर्फको खर्चको लागि यो रकम यसै आर्थिक वर्षभित्र परिचालन हुने पनि उनको दाबी छ ।

कार्यक्रममा बोल्दै माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस आयोजनाले कोभिड–१९ को महामारीका बेला र महामारी पछि पनि नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताए । कोभिड महामारीको समयमा मानिसको जीवन रक्षा तथा अर्थ व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरुलाई सघाउन विश्व बैंक प्रतिबद्ध रहेको पनि उनले बताए ।