July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

काठमाडौंमा सार्वजनिक सवारीका साधनहरु संचालनमा

काठमाडौंमा सार्वजनिक सवारीका साधनहरु संचालनमा

काठमाडौं । कोरोनाका कारण लामो समयदेखि रोकिएको सार्वजनिक सवारीका साधनहरु आजदेखि संचालनमा आएका छन् । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा जोर विजोर प्रणाली अनुसार आजदेखि सार्वजनिक सवारी साधन संचालनमा आएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

कोरोनाको दोश्रो लहरले महामारीको रुप लिएपछि सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजदेखि लागु हुने गरी २५ सिट भन्दा बढी भएका सवारी साधनलाई जोर विजोर प्रणालीबाट संचालनमा ल्याउन सकिने आदेश जारी गरेका थिए ।

सार्वजनिक यातायात संचालनमा आए पनि काठमाडौं प्रवेशमा भने कडाइ गरिएको छ । आदेशमा भनिएको छ, ‘अत्यावश्यक सामग्री बोकेका, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जिल्लाबाट स्वीकृति लिएर आएका बाहेक अन्य सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ ।’
व्यावसायिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीबाहेक) सपिङ मल, खेलकूद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहारका पसल, टेलरिङ खोलिने छन् ।

निर्माणजन्य सामग्रीको पसल (हाडवेयर्स, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी राति मात्र गर्न भनिएको छ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ ।

अत्यावश्यक सेवाजस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मत, स्वास्थ्यसम्बन्धीका गाडी, दूरसञ्चार, इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा, फोहरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने छ । भीडभाड हुने सबै गतिविधि, फुटपाथ र खुला ठाउँमा हुने व्यापार, होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतबन्ध, नित्यकर्मबाहेकका धार्मिक कार्यक्रम सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न पाइने छैन ।

वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ । उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माणकार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।

पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्यरुपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्ने छ । अत्यावश्यक सामग्री बोक्ने सवारी साधन परिचयपत्रका आधारमा सञ्चालन गर्न सकिने प्रजिअ पराजुलीले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

निषेधाज्ञा खुकुलो भए पनि प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनारमा बन्देज कायमै राखेको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय,लगायत भिडभाड हुने क्षेत्र बन्द नै रहनेछन् । यस्तै सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर पनि गर्न पाइने छैन ।

विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्य होटल तथा पार्टी प्यालेसमा गर्न पाइनेछैन। विद्यालय, कलेज, ट्यूसन सेन्टरले भौतिक उपस्थितिमा पठन पाठन गर्न पाउने छैनन् ।