July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

पललाई ‘रियल हिरो अफ दि इयर’ सम्मान

पललाई ‘रियल हिरो अफ दि इयर’ सम्मान

असार १६, काठमाडौं ।

नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्तर्गत उनलाई मंगलबार यो सम्मानबाट सम्मानित गरिएको हो । महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही अभियान अन्तर्गत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको हो ।

अभियानका संयोजक प्रकाश सुवेदीले पलले महामारीको समयमा समस्यामा परेका फिल्म प्राविधिकदेखि सर्वसाधारणहरुलाई सहयोग गरेकाले उनलाई सम्मान गरिएको बताए । पललाई ७ किलोको माला र सम्मान पत्र दिइएको थियो । पलको सम्मानपत्र अभिनेता भुवन केसीले वाचन गरेका थिए । सम्मान ग्रहण गरेपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए।  शाहले यो सम्मानले आगामी दिनमा पनि आफूलाई सामाजिक काममा लाग्नका लागि प्रेरणा दिएको बताए ।

नायक शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए । यस्तै, निषेधाज्ञाको समयमा अक्सिजनको अभाव भएको समयमा पलले विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएका थिए । उनले, बाढी प्रभावितहरुका लागि पनि सहयोग वितरण गरेका थिए ।