July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

बीपी कोइराला अध्ययन केन्द्रको भवन बनाउन काठमाडौं महानगरको २ करोड सहयोग

बीपी कोइराला अध्ययन केन्द्रको भवन बनाउन काठमाडौं महानगरको २ करोड सहयोग

असार १६, काठमाडौं ।

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको नाममा काठमाडौंको हाडीगाउँमा ‘वीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ स्थापना हुने भएको छ । बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको हो ।बुधबार सो भवनको कांग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डा. शशांक कोइराला र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे।

भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। भवन निर्माणका लागि बागमती प्रदेश सरकारले ५० लाख र ट्रष्टको रु. १ करोड लगानी रहने छ। थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ। भवन निर्माणको मात्रै लागत करिब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ।

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस सभापति देउवाले बीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौं महानगरपालिका र अन्यले गरेको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद दिए। ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो’, देउवाले भने, ‘बीपीको सम्झना हामी सबैले गर्नुपर्छ। उहाँ विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो।’

करिब दुई मिनेट बोलेका देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र बीपीको ख्याति र उनका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताए। कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस महामन्त्रीसमेत रहेका बीपीपुत्र शशांकले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताए।

काठमाडौंका मेयर शाक्यले आफू वीपीको कार्यकर्ता नभएपनि अनुयायी भएकोले वीपीको नाममा स्थापित अध्ययन केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । ‘कुनै बेला म वीपीलाई हेर्न र सुन्न सार्वजनिक कार्यक्रममा जाने गर्थे । कार्यकर्ता नभएपनि म उहाँको अनुयायी हो । उहाँको नाममा भवन बनाउन पाउँदा खुशी लागेको छ’, शाक्यले भने । उनले मुलुकमा प्राप्त राजनीतिक उपलब्धी जोगाउन कांग्रेस नेतृत्वले जिम्मेवार भूमिका खेल्ने अपेक्षा समेत व्यक्त गरे ।