March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

अलैंची निर्यात दोब्बरले बढ्यो, ६ अर्ब ७० करोडको अलैंची निर्यात

अलैंची निर्यात दोब्बरले बढ्यो, ६ अर्ब ७० करोडको अलैंची निर्यात

असार १७, काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएपछि निर्यातमा दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्षको ११ महिनामा अलैंचीको निर्यात ९३.७ प्रतिशतले बढेको हो । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ६ अर्ब ७० करोड ३७ लाख ८० हजार रुपैयाँको अलैंची निर्यात भएको छ । उक्त मुल्य बराबरको ८४ लाख ४८ हजार ९ सय ३७ किलो अलैंची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

Advertisement

अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब ४६ करोड १० लाख ४२ हजार रुपैयाँ बराबरको ४३ लाख ९ हजार ५०३ केजी निर्यात भएको थियो । नेपालको प्रमुख नगदेबालीका रुपमा अलैंची रहेको छ । नेपाली अलैंची कतार, चीन, भारत र युएई जाने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी नेपाली अलैंचीको बजार भारतले लिएको तथ्यांले देखाएको छ ।

Advertisement

अलैंची व्यवसायी महासंघका अनुसार कूल उत्पादनको ९८ प्रतिशत हिस्सा विदेशी बजारले लिएको छ । मुलुकको वैदेशिक व्यापारमा कूल निर्यातमा ६.२ प्रतिशत अलैंचीको योगदान छ । पछिल्लो समयमा नेपाली अलैंचीको उत्पादन व्यवसायीक हुन थालेपछि निर्यातमा योगदान बढ्दै गएको हो । मुलुकका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोकलगायत ३९ जिल्लामा अलैंची खेती हुँदै आएको छ ।

अलैंची निर्यातजन्य बहुमूल्य मसला बाली हो । १४ हजार आठ सय ४७ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ । एकपटक रोपेपछि १५–२० वर्षसम्म यसले उत्पादन दिन्छ । नेपालमा पाँच प्रजातीको अलैंची खेती हुन्छ । अलैंची समुन्द्र सतहबाट ६ सयदेखि २१ सय मिटरसम्मको तुषारो, असिना नपर्ने, बढी ओसिलो छहारी भएको, उत्तर पूर्वी मोहडा भएको भिरालो, पानी नजम्ने, बढी पानी पर्ने पूर्वदेखि पश्चिमसम्मका सबै मध्य पहाडी क्षेत्रमा व्यावसायिक खेती गर्न सकिन्छ ।

नेपाल व्यापार एकीकृत रणनीतिले निर्यातको उच्च सम्भावना भएका प्रवद्र्धनका लागि छनौट गरेको वस्तुमा अलैंची समावेश छ । व्यवसायीका अनुसार, मुलुकमा वार्षिक पाँच हजार टन अलैंची उत्पादन हुने गर्छ । यस्तै ११ महिनाको अवधिमा चिया निर्यातमा उलेख्य वृद्धि भएको छ । विभागका अनुसार ११ महिनाको अवधिमा चिया निर्यातमा ७१.२ प्रतिशतले बढेर तीन अर्ब ५३ करोड ६८ लाख ५७ हजार रुपैयाँको एक करोड १० लाख ३६ हजार ४८६ किलो निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब ६५ करोड ३६ लाख आठ हजार रुपैयाँ बराबरको ८३ लाख २५ हजार ७८७ किलो निर्यात भएको छ ।