March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुला, कस्तो छ वित्तीय अवस्था ?

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुला, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (बिहीबार) देखि बिक्री खुला भएको छ । लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२ दशमलव ११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । लघुवित्तले निष्कासन गरेको सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारीका लागि र १९ हजार ४५० कित्तासामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

Advertisement

मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असार २१ गतेसम्म आइपीओ खुला हुनेछ । यद्यपी कम आइपिओ परेमा यस्लाई असार ३१ गतेसम्म लम्बाउन सकिने छ । सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका न्युनतम १० कित्ताका दरले आवेदन दिन सक्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् ।

Advertisement

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय एवं मेरोसेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कस्तो छ वित्तीय अवस्था ?
साविकको मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको स्मार्ट लघुवित्त वित्तीय संस्थालाई गाभेर २०७७ साउन ११ गते गाभिएर मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार गरेको हो । रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रजिष्टर्ड कार्यालय रहेको यो लघुवित्त २०७४ असोज २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यसले २०७४ माघ १० गते ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको हो ।
मनकामना स्मार्ट लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ । जारी पुँजीमध्ये ८ करोड २२ लाख ५० हजार रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ३ करोड ८९ लाख रुपैयाँ बराबरको आइपीओ थपका लागि जारी भएको हो ।

आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६७.८९% र सर्वसाधारण हिस्सा ३२.११% हुनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म मनकामना स्मार्टले ३ करोड २१ लाख २० हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीले तत्काल पुँजी वृद्धि गर्ने कुनै पनि योजना बनाएको छैन । आव २०७९–८० सम्म आइपीओ बिक्रीपछि कायम हुने १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुँजी नै यथावत हुने प्रक्षेपण छ ।

यता, चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा पुग्ने प्रक्षेपण रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा र आव २०७८–७९ मा १८६ रुपैयाँ ८१ पैसा पुग्ने अनुमान रहेको छ । कम्पनीले आव २०७८–७९ मा ६ करोड ४६ लाख ९० हजार रुपैयाँ र आव २०७९–८० मा १० करोड ३२ लाख ५९ हजार रुपैयाँ नाफा कमाउने लक्ष्य राखेको छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ४० पैसा र आव २०७९–८० मा ८५ रुपैयाँ २३ पैसा पुग्ने अनुमान रहेको छ । हाल यस लघुवित्तले लुम्बिनी प्रदेशभित्रका १२ जिल्लाहरुमा ३७ वटा शाखा कार्यालय स्थापना गरी कारोबार गर्दै आइरहेको छ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्नेछ ।