March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

सामाजिक सुरक्षा कोषको विरोधमा एनआईसी एशिया बैंकका कर्मचारी आन्दोलित

सामाजिक सुरक्षा कोषको विरोधमा एनआईसी एशिया बैंकका कर्मचारी आन्दोलित

असार १८, काठमाडौं ।
पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकहरूबीचको विवाद उत्कर्षमा छ । बैंकका कर्मचारीहरू यथास्थितिमा कोषमा सहभागी हुन मानिरहेका छैनन् । सरकारले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई असार मसान्तभित्रै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पत्र काटेसँगै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

Advertisement

सरकारले विभेदकारी योजनामा जान बाध्य बनाएको भन्दै एनआईसी एशिया बैंकमा कार्यरत कर्मचारीले विरोध प्रदर्शन गरेका हुन् । विभिन्न १४ बुँदे माग राखेर शुक्रबार उनीहरुले कार्यालयअगाडि प्रदर्शन गरेका छन् । सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाविरुद्ध आफूहरुले विभिन्न माग अघि सारेको र उक्त माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रम जारी रहने प्रदर्शनमा सहभागी कर्मचारीहरुले बताए ।

Advertisement

कार्यविधि नै संशोधन गरेर आफूहरूका माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ । मंगलवारबाट अधिकांश बैंकका कर्मचारीहरूले आन्दोलन शुरू गरिसकेका छन् । आन्दोलनरत कर्मचारीहरूले अदालतमा मुद्दा समेत दायर गर्ने तयारी गरेका छन् ।

बैंकका कर्मचारीहरूका विभिन्न संगठनले असार ८ गते १५ बुँदे मागसहित विज्ञप्ति जारी गरेका छन् । उनीहरूले १५ बुँदामा पेन्सन, सेवा सुविधामा समान व्यवहारदेखि कार्यविधि नै संशोधन गर्नुपर्ने माग समेत राखेका छन् ।

बैंकका कर्मचारीले सामूहिक सौदाबाजी गर्न पाउने अधिकार कुण्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा ६४ मा भएको व्यवस्था अविलम्ब खारेज गर्नुपर्ने माग अगाडि सारेको छ ।

युनियनले २०७८ साउन १ गते वा त्यो भन्दा पछि योगदान गर्ने कर्मचारीहरूको योगदान रकम बाँडफाँडसम्बन्धी व्यवस्थाको पनि युनियनले विरोध गरेको छ । उसले  सावाँ रकम फिर्ता नभई योगदान रकमको करीब ७ प्रतिशत हिसाब गर्दा पाउने ब्याज बराबरको रकम मात्र निवृत्तिभरण योजनामा पेन्सन स्वरूप पाउने व्यवस्था गरिएको देखिएको बताएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विगतदेखि नै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि असहमति जनाउँदै आएका थिए । तर, कोषले यसलाई बाध्यकारी बनाएपछि आन्दोलनमै उत्रिनुपरेको उनीहरुको दाबी छ ।