July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

‘विरोधी मोर्चामा जोडिएका नेतलाई सर्वोच्चको फैसलाअघि पार्टीमा फर्कन आह्वान, त्यसपछि एता न उता हुने’

‘विरोधी मोर्चामा जोडिएका नेतलाई सर्वोच्चको फैसलाअघि पार्टीमा फर्कन आह्वान, त्यसपछि एता न उता हुने’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाअघि पार्टीमा आउन नेपाल पक्षलाई अल्टिमेटम दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शनिबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै विरोधी मोर्चामा जोडिएका नेता तथा कार्यकर्तालाई सर्वोच्चको फैसलाअघि पार्टीमा फर्कन आह्वान गरेका हुन् । ओलीले बैंठकमा भनेका छन्, ‘दोबाटो त्यतिबेला सम्म मात्र हो, त्यसपछि एता न उताको भइन्छ ।’

यसअघि शुक्रबारको बैठकमा ओलीले सोमबार साँझ ५ बजेसम्म पार्टीका अध्यक्षविरुद्ध शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिको कार्यालय र सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा हस्ताक्षर गरेकाहरुलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विरोध गर्ने माधव समूहलाई पार्टीमा बस्ने अधिकार नभएको चेतावनी दिएका छन् । माधव पक्षले सधैँ एउटै कुरा गरेको भन्दै उनले त्यस खालका कुरामा नअल्झिने बताए ।

जेठ २ मा फर्कने र कारबाही फुकुवा गर्ने उनीहरुको माग पूरा गरेको भन्दै अध्यक्ष ओलीले माग सम्बोधन गर्दा पनि केही पनि फरक नपरेको बताएका छन् । उनले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरु पार्टीको नेता कार्यकर्ता नभएको आरोप लगाएका छन् ।

नेकपा एमालेले साउन अन्तिममा विधान महाधिवेशन गर्ने भएको छ । महाधिवेशन आम निर्वाचनसँग जुध्ने भन्दै वैशाखमा सार्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको छ । बैठकले पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालयमा अन्तिम नामावली साउन ५ गतेसम्म पठाउने निर्णय गरेको छ । विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

बैठकले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन, ईश्वर पोखेरेललाई सांगठनिक, विष्णु पौडेललाई विधान र रामबहादुर थापालाई व्यवस्थापनको जिम्मेवारी पनि ताकेको छ । भदौ ५ गतेसम्म वडा र भदौ १५ सम्ममा पालिका अधिवेशन गर्ने निर्णय एमालेले गरेको छ । पार्टीका विभिन्न विभाग गठन गर्ने जिम्मा स्थायी कमिटीलाई दिने एमालेले जनाएको छ ।

बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गरेका छन् । यसअघि दशौं राष्ट्रिय महाधिवेशन मंसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।