July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

राष्ट्र बैंकले ९ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै, कसरी हुन्छ ट्रेजरीको कारोवार ?

राष्ट्र बैंकले ९ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै, कसरी हुन्छ ट्रेजरीको कारोवार ?

असार २०, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।बैंकले उक्त परिमाणको ९१ दिने ट्रेजरी बिल बिक्री गर्न लागेको हो।  ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको राष्ट्र बैंकले सुचना मार्फत जानकारी दिएको छ ।बैंकका अनुसार ९ अर्ब बराबरको ताजा ट्रेजरी बिल जारी गर्न लागेको हो भने १० करोड बराबरको नवीकरण गर्न लागिएको हो। उक्त बिलको असार २१ गते बोलकबोल गरिनेछ । असार २२ गतेदेखि जारी हुने ट्रेजरी बिल ९१ दिनमा परिपक्व हुनेछ।

कसरी हुन्छ ट्रेजरीको कारोवार ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने व्यवस्था छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा छैन । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकता अनुसार राष्ट्र बैंकले निष्कासन गर्ने गर्छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउनु यो बिलको उद्देश्य हो ।ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि प्रयोग गरिन्छ ।

ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलको बोलकबोल अनलाईन बिडिङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ ।  ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ ।

डिस्काउन्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था,गैर–बैंक वित्तीय संस्था, सँगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक टे«जरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग”वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकम मात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन ।

बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई टे«जरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन । ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नुपर्दछ । राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र टे«जरी बिल आवेदन खातामा जम्मा गरी भौचर राष्ट्र बैंकमा पेश गर्नु पर्दछ । साथै बोलकबोलमा सफल भएपछि बुझाउनु पर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्र ऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो खातामा मौज्दात कायम गर्नुपर्दछ ।

राष्ट्र बैंकमा खाता नहुने बोलवालाको अर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ । सरकारी ऋणपत्रको बोलकबोलमा मूल्य वा ब्याजदर कोट गरी प्रतिस्पर्धात्मक रूपमा बोल गर्ने बोलकर्ता । सरकारी ऋणपत्रको बोलकबोलमा मूल्य वा ब्याजदर कोट नगरी माग रकम मात्र उल्लेख गर्ने बोलकर्ता ।

ट्रेजरी बिलको बोलकबोलमा न्यूनतम ५० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रूपैंयाले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न सकिन्छ । ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गर्ने गरिन्छ । बोलकबोलको परिणामको जानकारी पनि मंगलबार नै दिने गरिन्छ ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म टेजरी बिलको बाँडफाँट गरिन्छ । बोलकबोल भएको भोलिपल्ट निष्कासन मितिका दिन सफल बोलवाला मध्ये राष्ट्र बैंकमा खाता हुनेको यस बैंकमा रहेको खाता र खाता नहुनेको हकमा ट्रेजरी बिल आवेदन खाता खर्च गरी हिसाब मिलान गर्ने गरिन्छ ।

ट्रेजरी बिलको निष्कासनमा डिस्काउण्ट रकम कटाएर बाँकी रकम मात्र जम्मा गरिन्छ भने तोकिएको मितिमा पूरा रकम भुक्तानी गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा टे«जरी बिलको प्रमाणपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ ।

ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनुपर्ने व्यवस्था छ ।