July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

कृषिप्रधान मुलुक धानको बीउमै परनिर्भर बन्दै, ५ अर्ब ५३ करोडको आयात

कृषिप्रधान मुलुक धानको बीउमै परनिर्भर बन्दै, ५ अर्ब ५३ करोडको आयात

असार २२, काठमाडौं ।
नेपाल कृषि प्रदान देश भनिए पनि वार्षिक रुपमा अर्बौ रुपैयाँ खर्चेर बीउ आयात गर्नु परिरहेको छ । पछिल्लो ५ वर्षमा ५ अर्ब ५३ करोड रुपैयाँ भन्दा बढीको धानको बीउ आयात भएको छ । आर्थिक वर्ष २०७०–७१ देखि २०७७–७८ सम्म धानको बीउ मात्र ५ अर्ब ५३ करोड ३३ लाख ६५ हजार ३७ मूल्य आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

चालू आर्थिक वर्षमा मात्र १ अर्ब ६१ करोड १८ लाखको ९८ हजार ६७ रुपैयाँ धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड जातका धानका बीउहरू आयात गरेका हुन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ हजार रुपैयाँको कुल ४ हजार १ सय ४९ मेट्रिक टन धानको बीउ आयात गरेका हुन् ।

यूएस ३ सय १२, च्याम्पियन, राजा, महाराजा, साँवामन्सुली, सुधा, शान्तिलगायत ४६ प्रकारका धानका बीउ आयात भएका छन् । यसरी आयात गरिएकामध्ये ३९ ओटा जातका बीउ भारत र बाँकी सातओटा जात चीनबाट आयात गरिएको हो । सावित्री, सोनामन्सुली, मकवानपुर, बास्मतीलगायत धानको बीउ नेपालमै उत्पादन हुन्छ । व्यवसायीहरूले भारत र चीनबाट वर्णसंकर बीउहरू आयात गर्ने गर्छन् । यस वर्ष भारतबाट ३ हजार ९ सय ६१ मेट्रिकटन बीउ आयात भएको छ भने चीनबाट जम्मा १ सय ८८ मेट्रिक टन बीउ आयात भएको भएको छ ।

नेपालमा धानखेती हुने कुल १३ लाख ५० हजार हेक्टर जमीनका लागि वार्षिक करीब ७० हजार मेट्रिक टन धानको बीउ आवश्यक हुन्छ । यसमा निजी बीउ उत्पादक कम्पनी तथा व्यवसायीहरूले ठूलो अंशा ओगटेका छन् । नेपाली बीउ उत्पादक कम्पनीहरूले वार्षिक १० हजार मेट्रिक टन धानको बीउ उत्पादन गर्ने गरेको तथ्यांक छ । कतिपय किसानले आफ्नै स्थानीय बीउ पनि प्रयोग गर्ने गरेको सरोकारवालाहरू बताउँछन् । सावित्री, मकवानपुर, बास्मतीलगायत धानको बीउ नेपालमै उत्पादन हुन्छ भने वर्णसंकर बीउहरू भारत र चीनलगायत देशहरूबाट आयात हुने गर्छ ।

यस्तै चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा नेपालले ७३ अर्ब ९४ करोड २४ लाख ३९ हजार रुपैयाँ बराबरको २ अर्ब १७ करोड ३ लाख ३९ हजार केजी खाद्यान्न आयात गरेको छ । नेपालमा करिब ६० प्रतिशत जनता कृषिमा आबद्ध छन् । तर, उक्त ६० प्रतिशत कृषिमा आबद्ध रहेको जनसंख्याको योगदान २८.२० प्रतिशत मात्रै छ । नेपालमा मुख्यगरी धान, मकै, कोदो, गहुँलगायतका खाद्यान्न उत्पादन भइरहेको छ । तर, उक्त उत्पादन भएका खाद्यान्नले बजार नधान्ने देखिन्छ ।

विगत लामो समयदेखि नै सरकारले नेपालीहरूको मुख्य खाद्यान्न धान, गहुँ, मकैमा आत्मनिर्भर बनाउने धोषणा गर्दै आए पनि वार्षिकरुपमा आयात गर्नेको ग्राफ बढ्दै गएको देखिन्छ । नेपालीले सबैभन्दा बढी नेपालीहरूको मुख्य खाद्यान्नको रुपमा रहेको चामल आयात भएको छ । चालु आवको ११ महिनाको अवधिमा नेपालले ४८ अर्ब १६ करोड २३ लाख ४९ हजार रुपैयाँको आयात गरेको छ । सोही अवधिमा नेपालले गत वर्ष ३० अर्ब ८२ करोड ५८ लाख रुपैयाँको चामल आयात गरेको थियो ।

जुन गत वर्षको तुलनामा चालु आवमा ५६.२ प्रतिशतले बढी आयात भएको छ । उक्त चामल भारत, अमेरिका र चीनबाट आयात भएको व्यापार तथ निकासी प्रबर्द्धन केन्द्रको तथ्याङ्कले देखाउँदछ । जसमा भारतबाट मात्रै ४७ अर्ब ९४ करोड २१ लाख ५८ हजार, अमेरिकाबाट १५ करोड १८ लाख ६१ हजार, चीनबाट ६ करोड ७१ लाह ३३ हजार रुपैयाँको चामल आयात गरेको छ । चालु आवमा गत वर्षको तुलनामा भारतबाट ५७.२ प्रतिशत, अमेरिकाबाट २६०.२ प्रतिशत र चीनबाट ३.३ प्रतिशत बढीले आयात भएको छ ।

त्यस्तै, चालु आवको ११ महिनाको अवधिमा नेपालले १४ अर्ब ४८ करोड ३० लाख ५९ हजार रुपैयाँको मकै आयात गरेको छ । उक्त मकै भारतबाट १३ अर्ब ६८ करोड ८६ लाख ८३ हजारको, अर्जेटिनाबाट ५२ करोड ८२ लाख २२ हजारको र ब्राजिलबाट १८ करोड ४८ लाख २५ हजार रुपैयाँ बराबरको मकै आयात भएको छ । नेपालले सोही अवधिमा ११ अर्ब २९ करोड ७० लाख ३२ हजार रुपैयाँ बराबर गहुँ आयात गर्दा ११ अर्ब २९ करोड ६८ लाख ९४ हजारको गहुँ भारतबाट आयात भएको छ । जसमा गहुँ आयातमा ६३.४ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँदछ ।