July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

कोरोनाका कारण आर्थिक समस्या उत्पन्न भएसँगै कुमारी फिल्म हल सधैँको लागि बन्द

कोरोनाका कारण आर्थिक समस्या उत्पन्न भएसँगै कुमारी फिल्म हल सधैँको लागि बन्द

असार २२, काठमाडौं ।

कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गर्ने निर्णय भएको छ । दुईवटा पर्दामार्फत् तीन दशकअघिदेखि चलचित्र देखाइदै आइएको यो भवन कोरोनाका कारण आर्थिक समस्या उत्पन्न भएसँगै सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् ।

अहिले हल भित्रका सामानहरु समेत हटाउन थालिएको छ । यसअघि चलचित्र प्रदर्शन हुँदै आएको भवन प्रयोजनका लागि प्रयोग गरिनेछ । कुमारी हल क्यूएफएक्स चेनको संचालनमा रहेको थियो । यसअघि क्यूएफएक्स चेनको स्वामित्वमा रहेको जय नेपाल चलचित्र घर समेत सधैका लागि बन्द गरिएको छ ।

२०४१ सालमा स्थापना भएको कुमारी फिल्म हलमा पहिलोपटक ‘जय सन्तोषी माता’ फिल्म प्रदर्शन गरिएको थियो । २०६२ सालमा क्यूएफएक्सले संचालनको स्वामित्व लिएको कुमारी निर्मातालाई नाफा दिने हलमध्ये एक थियो ।

२०३६ सालमा रिलिज भएको फिल्म ‘सिन्दूर’ र ज्याकी श्राफको  फिल्म ‘हिरो’ले उधुम कमाइ गरेका थिए । पछिल्लो पटक हलिउड ब्लकबस्टर ‘एभेन्जर्स : एन्ड गेम’ले उछाल कमाइ गरेको थियो । साङ्लो, ब्लडसट र आमा कुमारीमा रिलिज हुने अन्तिम फिल्म बने ।२०७७ चैत ११ गते लकडाउन भएसँगै कुमारी बन्द भएको थियो ।