March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

रानी सामुदायिक वन उपभोक्ता समूह सामुदायिक वनतर्फको उत्कृष्ट

रानी सामुदायिक वन उपभोक्ता समूह सामुदायिक वनतर्फको उत्कृष्ट

बागमती प्रदेशको राजधानी हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०७७/७८ को सामुदायिक वनतर्फको उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

Advertisement

डिभिजन वन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरि क्रियाशील सामुदायिक वन समूहमध्ये रानी सामुदायिक वन उपभोक्ता समूहलाई यस वर्षको उत्कृष्ट समूहका रूपमा पुरस्कार प्रदान गरिएको हो ।

Advertisement

समूहले सामुदायिक वनको मार्गदर्शनबमोजिम वन व्यवस्थापन र समूह परिचालन, निर्णय प्रक्रिया, सुशासन, सामाजिक विकास तथा पारदर्शितामा नतिजामूलक कार्य गरेकाले पुरस्कार प्रदान गरिएको कार्यालयको दाबी छ ।

यसअघि सो समूहले विक्रम संवत् २०५७ सालको सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार, २०५४ सालमा वन संरक्षण युवा पुरस्कार, २०६० सालमा वनदेवी पुरस्कार र २ पटक जिल्लास्तरीय प्रथम पुरस्कार प्राप्त गरिसकेको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित रानी सामुदायिक वनमा अवलोकन गर्न धेरै देशबाट मानिस आउने गरेका छन् । सालक संरक्षणमा अब्बल मानिएको यो समूहले सालक ‘केज’ समेत बनाएको छ । ब्लक नम्बर ६ लाई पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गराउन शान्तिटोल विकास संस्थासँग मिलेर काम गरिरहेको समूहले जनाएको छ ।

डिभिजन वन कार्यालय मकवानपुरले यस वर्षको कबुलियती वनतर्फको पुरस्कार वाग्मती गाउँपालिका–७ मा रहेको सुनगाभा कबुलियती वन समूहलाई प्रदान गरेको छ । पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ । रासस