July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

बाढीले घर बगाउँदा १ जनाको मृत्यु

बाढीले घर बगाउँदा १ जनाको मृत्यु

म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ रातोढुंगामा बाढीले घर बगाउँदा बुधवार बिहान १ जनाको मृत्यु भएको छ । बाढीबाट १ जना बेपत्ता भएका छन् ।

मंगला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो ।

घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।

बजिनको शव भेटिएको र बिना बेपत्ता भएको वडाध्यक्ष सुवेदीले बताए । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयहरू बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।

खहरे खोलाको बाढी पसेर मंगला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुंगाको बस्ती, निर्माणाधीन ३२/११ केभी क्षमताको सबस्टेसन र सयौं रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ ।

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण संकलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको बताए । रासस