July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

कृषि विकास बैंक र निजामती अस्पतालबीच बैंकिङ सेवा सञ्चालन गर्ने सम्झौता

कृषि विकास बैंक र निजामती अस्पतालबीच बैंकिङ सेवा सञ्चालन गर्ने सम्झौता

असार २४, काठमाडौं ।

कृषि विकास बैंक लिमिटेड र निजामती अस्पतालबीच अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएमलगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्झौता भएको छ ।  सम्झौतामा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् । आगामी १० वर्षसम्मका लागि यी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ।

उक्त सम्झौताले अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारणसमेतलाई विविध बैंकिङ सेवाहरू सहज रूपमा उपलब्ध हुने जनाइएको छ । बैंकले आफ्नो सेवा विस्तारका क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्यसहित साउन महिनादेखि उल्लेखित सेवा सञ्चालन गर्ने जनाएको छ ।

अस्पतालको बिलिङ काउन्टर बैंकले सञ्चालन भएपछि अस्पतालको सो सेवासमेत अझै प्रभावकारी हुने विश्वास लिइएको बैंकले जनाएको छ । सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख गिरिधारी पौडेल, बागमती प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक नयाँ बानेश्वर शाखाको प्रबन्धक रमेश रावल, गठ्ठाघरका प्रबन्धक खेटराज दाहाललगायत अन्य कर्मचारीको समेत उपस्थिति थियो।

अस्पतालका तर्फबाट लेखा शाखाका प्रमुख चूडामणि गौतम, कर्मचारी युनियनका प्रतिनिधि सन्तोष धिमाल, सचिव विनोद पोखरेललगायत अन्य कर्मचारीेको उपस्थिति थियो।  बैंकले हाल देशको सबै जिल्लामा एक्सटेन्सन काउन्टरसमेत गरी २ सय ८० शाखा सञ्जालमार्फत सेवा दिइरहेको जनाएको छ ।