July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

सीवाइसी लघुवित्तको ३ करोड ९५ लाख रुपैयाँको आईपीओ आउदै

सीवाइसी लघुवित्तको ३ करोड ९५ लाख रुपैयाँको आईपीओ आउदै

असार २५, काठमाडौं ।

सीवाइसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३५.९७४ कित्ता आइपीओ बिक्री गर्ने भएको छ । आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धमा सीवाइसी लघुवित्त र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा लघुवित्तको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्तलाई एक्विजिशन गरेको छ । एक्विजिशनपश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ पुगेको छ ।

संस्थापक समूहको ६७.५० प्रतिशत सेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक सेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको सेयर पुँजी चुक्ता भइसकेको छ । यस वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आइरहेको छ ।