July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

राजस्व संकलन लक्ष्य नजिक, कुल लक्ष्यको ८६.१६ प्रतिशत संकलन

राजस्व संकलन लक्ष्य नजिक, कुल लक्ष्यको ८६.१६ प्रतिशत संकलन

असार २५, कठमाडौं ।

चालू आर्थिक वर्ष २०७७/७८ मा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन नजिक देखिएको छ ।  आर्थिक वर्ष समाप्त हुनु करीब एक साता अगाडिको राजस्व संकलनको तथ्यांकले लक्ष्य चुम्न नजिक देखिएको हो ।

चालू आर्थिक वर्षको शुरूको केही महिना विभिन्न किसिमका बन्दाबन्दी र निषेधाज्ञाले अर्थतन्त्र सुस्त बनेको थियो । त्यसपछि चालू आवको अन्तिम समय वैशाख १६ देखि असारसम्म नै निषेधाज्ञा जारी भयो । यसरी शुरू र अन्तिममा पनि निषेधाज्ञा जारी हुँदा राजस्व संकलनको अनुमानित लक्ष्य भेट्ने देखिएको छ ।

आर्थिक वर्ष सकिन करिब एक साता बाकि  रहदा यस बिचमा सरकारको राजस्व उठ्ने क्रम भने बढिरहेको छ । हिजो मात्र सरकारको ढुकुटीमा ५ अर्ब ६९ करोड रुपैयाँ थपिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २४ सम्ममा सरकारले विभिन्न कार्यालय तथा विभागहरूबाट कुल ८६.१६ प्रतिशत राजस्व संकलन गरेको छ । सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये असार २४ गतेसम्ममा ८ खर्ब ७१ अर्ब ७० करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८६.१६ प्रतिशत हो ।

यस अवधिमा सरकारले कर राजस्व ८८.९७ प्रतिशत संकलन गरेको छ । कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सरकारले असार २४ सम्ममा ८ खर्ब १२ अर्ब २८ करोड १९ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ६४.०५ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । सरकारले ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा सो समयमा ७ खर्ब १२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो ।

विभागका अनुसार असार २४ गतेसम्ममा ५ सय ५३ ठूला करदाताले कर तिरेका छन् । कुल ६ सय ७२ करदातामध्ये अब बाँकी १ सय १९ ठूला करदाताले महिनाको अन्तिम दिनसम्ममा कर तिर्ने विश्वास लिएको विभागले जनाएको छ ।