March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

एमालेको विवाद समाधान नजिक, दोस्रो तहका नेता अझ सकृय

नेकपा एमालेको विवाद समाधान नजिक पुगेको छ । समाधानको विकल्प स्वरुप गठन भएको कार्यदलको बैठक आज बस्दै समाधानको खाकामा सहि गर्ने तयारी गरेको छ । १० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने तयारी गरेको हो । यस्का लागि पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरु थप सकृय भएका छन् ।

Advertisement

कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका विषयमा सहमतिको मस्यौदा तयार गरेको छ । वरिष्ठ नेता माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय भने टुंगिन बाँकी छ ।

Advertisement

प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाका विषयमा भने कस्तो धारणा राख्ने भन्ने विषयमा लामो गृहकार्य र छलफलबाट पनि कार्यदल तहमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय टुंगिएपछि मात्र सहमतिले मूर्त रुप पाउने कार्यदलका सदस्यहरुले जनाएका छन् ।

हिजोको बैठकमा पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको छ । यो संरचना क्रियाशील गराउन ओली पक्षले आनाकानी गरिरहेको थियो ।

यस्तै, माओवादीसँगको एकतापूर्वको २ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्न दुवै पक्ष तयार भएका छन् । २ सय ४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँताउने ओली पक्षको प्रस्तावमा यसअघि झलनाथ खनाल–नेपाल पक्षले असहमति राख्दै आएको थियो । कार्यदलले सहमतिको दस्तावेज तयार पारेको जनाईएको छ । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले लामो समयको छलफलपछि सहमतिको टुँगोमा पुगेको दाबी गरेका छन् ।

उनले विवाद समाधानको सहमतिको विन्दुमा पुगेको र भाषिक शुद्धता मिलाउन बाँकी रहेकोले भोलिबैठक पूनः बस्ने र टुँगो लगाउने जनाए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट विष्णु पौडेल संयोजक छन् । सदस्यहरुमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

उता, वरिष्ठ नेता माधव नेपालको तर्फबाट संयोजकमा भीम रावल छन् । र, सदस्यहरुमा रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र गोकर्ण विष्ट छन् । कार्यदलको बैठक जारी रहेको समयमा दुवै तर्फका एक एक नेताहरु ओली र नेपाललाई मस्यौदाको खाका देखाउन गएका थिए । ओलीको तर्फबाट शंकर पोखरेल गएका थिए भने नेपालको तर्फबाट पन्त गएका थिए ।