July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

बाढीपहिरो पीडितलाई अस्थायी घर बनाउन २ करोड ८६ लाख निकासा

बाढीपहिरो पीडितलाई अस्थायी घर बनाउन २ करोड ८६ लाख निकासा

असार २७, काठमाडौं ।
सरकारले यस वर्ष मनसुनका कारण क्षति व्यहोरेका पीडित परिवारलाई अस्थायी घर बनाउन बजेट निकासा गरेको छ । निजी आवास क्षति भएका परिवारलाई तत्काल अस्थायी घर बनाउन प्रतिघर ५० हजारका दरले २ करोड ८६ लाख ५० हजार रुपैयाँ निकासा गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मनसुन शुरू भएयता सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललगायत अन्य ७ जिल्लामा ५ सय ७३ घरमा क्षति भएको छ । यसअघि प्राधिकरणले बाढी पहिरो प्रभावित भएका स्थानको लगत संकलन गरेर विवरण पेश गर्न सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो । जिल्ला प्रशासनले क्षतिको विवरण पेश गरेपछि केन्द्रले अस्थायी आवास निर्माणका लागि रकम विनियोजन गरेको हो ।

सरकारले सिन्धुपाल्चोकमा २ सय ८६ परिवारलाई तत्काल अस्थायी बसोबासका लागि १ करोड ४३ लाख रुपैयाँ पठाएको छ । यस्तै लमजुङका ३ परिवारलाई १ लाख ५० हजार, अर्घाखाँचीका ७० परिवारलाई ३५ लाख, हुम्लाका २३ परिवारलाई ११ लाख ५० हजार पठाएको छ । त्यसैगरी बाजुराका १ सय ५१ परिवारलाई ७५ लाख ५० हजार, दैलेखका ४ परिवारलाई २ लाख, दाङका ८ परिवारलाई ४ लाख र प्युठानका २८ परिवारलाई १४ लाख रकम पठाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार गत वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घरहरु पुनर्निमाणका लागि १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ प्रथम किस्ता वापतको रकम सम्बन्धित जिल्ला विपद व्यवस्थापनको कोषमा पठाइएको छ ।