July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

सेयर बजारका सबै समुहमा देखियो हरियाली, २४ कम्पनीको बजारमा रहयो दवदबा

सेयर बजारका सबै समुहमा देखियो हरियाली, २४ कम्पनीको बजारमा रहयो दवदबा

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार चमक देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७३.३३ अंकले बढेर बजारमा नयाँ चमक देखिएको हो । नयाँ बृद्धिसँगै बजार २८९८.४३ विन्दुमा अडिएको छ । यससँगै नेप्से फेरि २९ सयको विन्दुको नजिक आएको छ । चमक देखिएको बजारमा कारोवार रकमले पनि साथ दिएको छ । आज मात्रै बजारमा ८ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।


अघिल्लो साता लगातार गिरावट भएको नेप्से विहीवार र आज बढेको हो । नेप्सेमा आज कूल आठ अर्ब छ करोड १३ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कूल २२५ वटा कम्पनीका तीन करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर ८२ हजार ४९ पटक खरिद–बिक्री भएका थिए ।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १३.७७ अंकले बढेर ५४३.४३ विन्दुमा कायम भएको छ ।
बजार बढेसँगै आज सबै समूहमा हरियाली छाएको छ । सेयर मूल्य वृद्धि भएको वित्त कम्पनी उपसूचक सवार्धिक ८.३७ प्रतिशत र विकास बैंक उपसूचक ८.२९ प्रतिशतले बढेको छ । विकास बैैंक र वित्त कम्पनी समूहका अधिकांश कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । यसबाहेक जीवन बिमा उपसूचक २.९२ प्रतिशत, हाइड्रोपावर उपसूचक २.८८ प्रतिशतले बढेको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि २.३४ प्रतिशतले बढेको छ । जीवन बीमा समूह सबैभन्दा बढी ४९८.२ अंकले बढ्दा निर्जीवन बीमा समूह ३५५.२६ अंक र विकास बैंक समूह ३५५.२२ अंकले बढेको हो ।

नेप्सेका अनुसार आज विभिन्न २४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्स १०–१० प्रतिशतले बढेका हुन् । बाँकी २१ कम्पनीको लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका हुन् ।
आज गोर्खा फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्सको कारोबारमा सकारात्मक सर्किट लागेको थियो । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.७५ प्रतिशतका दरले गुमाएका छन् ।

आज एनआईसी एसिया बैंकका सेयर सबैभन्दा धेरै ३९ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । संख्यात्मक आधारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ सबैभन्दा धेरै ७० लाख ३७ हजार ६०० कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर सबैभन्दा धेरै तीन हजार ९६४ पटक किनबेच भएका थिए ।