July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली

साफ फुटबल नेपालमा आयोजना हुन्छ :  प्रधानमन्त्री ओली

असार २७, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उहाँले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकूद परिषद् (राखेप) लाई निर्देशन दिनुभयो ।

आयोजक राष्ट्र बङ्गलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएका सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रारम्भमा युवा मन्त्रालयका सचिव केदार न्यौपानेले मन्त्रालयले गरिरहेका विभिन्न गतिविधिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै उपाधि विजेता फुटबल टोलीका लागि १ करोड रुपैयाँ निकासा गरिएको बताए।

सम्मानितका तर्फबाट नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू चेम्जोङले सरकारले सम्मान गरेपछि आफूहरु थप उत्साहित भएको बताउँदै आगामी दिनमा पनि सम्मान र पुरस्कृत हुने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने वाचा गरेका थिए ।
सो अवसरमा चेम्जोङले सरकारले नेपालमै १३औं साफ फुटबल आयोजना गर्न पहल गरे सम्भव हुने तथा नपाली टोली उपाधि उचाल्ने गरी मैदानमा उत्रिने बताउनुभएको थियो । टोलीका खेलाडीलाई सरकारले जनही ४ लाख रुपैयाँ तथा प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ प्रदान गरेको छ । सो अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानमन्त्री ओलीलाई मायाको चिनो प्रदान गरेका थिए ।

नेपाल, बङ्गलादेश र किर्गिस्तानबीचको ‘थ्री नेसन्स कप’ गत वर्ष चैत १० देखि १६ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा युवामन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो । यसअघि साफ यस वर्ष बङ्गलादेशमा आयोजना हुने तय थियो ।

प्रतियोगिता सेप्टेम्बर १४ देखि २५ तारिखसम्म गर्ने तय भए पनि बङ्गलादेशले अन्तिम समयमा कोरोना भाइरस महामारीलगायत कारण आयोजना गर्न नसक्ने जनाएको थियो । बङ्गलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपाल र श्रीलङ्काले साफ फुटबल आयोजना गर्न दावी गरेका छन् ।   रासस