July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

बंगलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिक टन युरिया मल

बंगलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिक टन युरिया मल

असार २८, काठमाडौं ।
बंगलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार उक्त मल नेपाल आइपुगेको हो । बंगलादेशबाट युरिया मल ल्याउन नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच सम्झौता भएको थियो ।

दुई देशबीच ५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता भएको थियो । सम्झौता अनुसार थपघट गरी ५२ हजार मेट्रिक टन मल आइपुगेको कृषि सामाग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए । सम्झौता अनुसार केही समय अघि नै नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नुपर्नेमा विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले सबै मल आउन केही ढिलाइ भएको हो । उक्त मल ४ हजार ७ सय सहकारी मार्फत किसानलाई बिक्री वितरण गरिएको छ ।

आगामी दिनमा किसानलाई मल अभाव नहुने गरी गृहकार्य गरिरहेको मन्त्रालयको दावी छ । मन्त्रालयका अनुसार यहाँ प्राविधिक हिसाबले वार्षिक १३ लाख मेट्रिक टन मल आवश्यक छ । तर प्राविधिकको सल्लाहबिनै किसानले आफ्नै तरिकाले मल प्रयोग गर्ने भएकाले वास्तविक मागको तथ्याङ्क थाहा हुन सकेको छैन।

माग थाहा पाउन सबै पालिकामा खपत तथ्यांक अनलाइन प्रणालीमा राख्ने योजना बनाइएको मन्त्रालयले बताएको छ । मल खपत तथ्यांक अनलाइन बनाउँदा किसानले बर्सेनि वा कुन सिजनमा कति मल प्रयोग गर्छन् भन्ने थाहा हुनेछ । अघिल्लो वर्षसम्म मलको अभाव खेपिरहेका किसान यो वर्ष समयमै मल पाउँदा खुशी भएका छन् ।