July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो

असार २८, काठमाडौं ।

अमेरिकाले उपलब्ध गराएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गरेको थियो ।अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठले बताए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताएका छन् । अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको  थियो । यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका थिए ।