March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा

कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा

नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । ललिता निवास जग्गामा भ्रष्टाचारको आरोप लागेका गच्छदारको बुधबार विशेष अदालतमा थुनछेक बहस भएको थियो । ललिता निवासको जग्गाको मुद्दा लागेपछि फरार गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । गच्छदार बुधबार बिहान १० बजे उपस्थित भएपछि चार घण्टासम्म उनको बयान लिइएको थियो । उनको बयान सकिएपछि साढे २ बजेदेखि थुनछेक बहस सुरु भएको थियो ।

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज् मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी मन्त्री हुँदा ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै २२ माघ २०७६ मा मुद्दा दायर गरेको थियो ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा गरेको भन्दै गच्छदार सहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अहिलेसम्म केही आरोपितहरु विशेष अदालतमा उपस्थित भएर धरौटी वा तारिखमा छुटेका छन् भने केही थुनामा छन् ।

Advertisement