देउवाले पाउलान् त विश्वासकाे मत ? यस्तो छ अंकगणित
साउन ३, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका छन् । आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि देउवाले विश्वासको मत लिने गरी तयारी शुरू भएको हो । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भएपनि आजै लिने तयारी गरेका हुन्।
विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाका दुईवटा बैठक बस्ने भएका छन् । दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने गरी कार्य व्यवस्थाले निर्णय गरेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ मतको आवश्यकता पर्छ । अहिलेको अवस्थामा प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट १ सय २८ सांसद छन् । नेकपा एमालेका ८ सांसदले विश्वासको मत दिए भने उनले विश्वासको मत पाउनेछन् अन्यथा ६ महिनाभित्रमा निर्वाचन हुनेछ । नेकपा (एमाले)मै रहेकाले माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरीलाई माओवादीले बर्खास्त गरेको थियो। स्वतन्त्र रूपमा जितेका एक सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले ४९ जनाले मत दिन पाउनेछन्। जनता समाजवादी पार्टीमा जम्मा ३२ सांसद रहेका छन्। ३४ मध्ये दुईजना निलम्बित छन्।
संसदमा तत्काल कायम संख्या २७१ को बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ। त्यसका लागि अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका २०, राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन्। तीन पार्टीबाट गरी देउवालाई १३१ जनाले विश्वासको मत दिने निश्चित भएको छ। उनलाई संसदबाट विश्वासको मत लिन थप ५ जना सांसद आवश्यक पर्छ। त्यसका लागि उनलाई एमालेको माधव नेपाल समूह वा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदको मत आवश्यक पर्छ। देउवाले विश्वासको मत नपाए संसद विघटन हुन्छ र मुलुकमा चुनाव घोषणा हुनेछ।
प्रतिकृया दिनुहोस्