March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

सेयर बजार एकै वर्षमा १८ खर्बबाट ४० खर्ब

श्रावण ३, २०७८
काठमाडौँ — सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य एक वर्षमा दोब्बरभन्दा धेरै भएको छ । २०७७ साउनमा कुल बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो भने यो असार मसान्तमा ४० खर्ब १० अर्ब रुपैयाँ पुगेको छ ।

Advertisement

सेयर बजारमा भएको उच्च वृद्धिका कारण साउनदेखि असारसम्म लगानीकर्ताको सम्पत्ति २२ खर्ब १८ अर्ब रुपैयाँ बढेको छ । यसरी कुल बजार पुँजीकरण एकै वर्षमा १ सय २४ प्रतिशत वृद्धि भएको छ । सेयर मूल्यमा भएको वृद्धिका कारण गएको एक आर्थिक वर्षमा लगानीकर्ताको सम्पत्तिमा बढोत्तरी आए पनि त्यो नाफा भने होइन । नाफा हुन लगानीकर्ताले सेयर बिक्री गरी नगद नै हात पार्नुपर्छ । यस कारण किताबी (लेखांकन) रूपमा मात्र लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको हो ।

Advertisement

गत आर्थिक वर्षमा सेयर बजारका लगानीकर्ताले करिब पौने ३ खर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । उक्त नाफाबाट लगानीकर्ताले औसत ५ प्रतिशत रकम पुँजीगत लाभकरका रूपमा सरकारलाई तिरेका छन् । यसअन्तर्गत गत असारसम्म करिब पौने १५ अर्ब रुपैयाँ पुँजीगत लाभकर उठेको छ । करिब तीन दशकको पुँजी बजारको यात्रामा पुँजीगत लाभकरमार्फत यति धेरै रकम सरकारलाई प्राप्त भएको पहिलो पटक हो ।

यही बीचमा सेयर बजार अर्थतन्त्रको आकारभन्दा ठूलो बनेको छ । सेयर बजार गत असारमा ४२ खर्ब रुपैयाँभन्दा माथि पुगिसकेको थियो । पछिल्ला केही साता बजारमा गिरावट आएकाले गत बिहीबारसम्म कुल बजार पुँजीकरण पनि घटेर ४० खर्ब १० अर्ब रुपैयाँमा सीमित भएको हो । आधार वर्ष परिवर्तन गरेपछि अर्थतन्त्रको आकार (जीडीपी) वर्तमान मूल्यमा ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ ।

सेयर बजारमा लगानीकर्ताको संख्या पनि तीव्र गतिमा थपिएको छ । गएको आर्थिक वर्षमा मात्र थप ६ लाख ३१ हजार ७ सय २९ जना लगानीकर्ता दोस्रो बजारमा थपिएका छन् । २०७७ असारमा दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २ लाख ४५ हजार ४ सय ७४ थियो । यससँगै दोस्रो बजारमा कुल लगानीकर्ताको संख्या ८ लाख ७७ हजार २ सय ३ पुगेको छ । यसरी एकै वर्षमा लगानीकर्ताको संख्या १ सय २३ प्रतिशत वृद्धि भएको छ । गएको एक वर्षमा बजारमा थपिएकामध्ये सबैजसोले अनलाइन सेयर कारोबारका लागि ‘लगइन र युजरनेम’ लिएको देखिन्छ । यसअनुसार गत असारसम्म अनलाइन कारोबारका लागि ‘लगइन’ लिने लगानीकर्ताको संख्या करिब ७ लाख ९२ हजार छ । २०७७ असारमा यस्तो संख्या ३५ हजार १ सय १९ मात्र थियो ।

पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीका अनुसार गत असारसम्म ३७ लाख ५१ हजार ७ सय डिम्याट (सेयर अभौतिकीकरण खाता) खाता खुलेका छन् । २०७७ असारमा डिम्याट खाताको संख्या १७ लाख २३ हजार ९ सय थियो । पछिल्लो पटक खुलेको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख ८२ हजार ७ सय ७५ जनाको आवेदन परेको थियो । यो हालसम्मकै उच्च हो ।

आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारमा १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा दोस्रो बजारमा कुल १ खर्ब ५५ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसरी एकै वर्षमा दोस्रो बजारमा सेयर कारोबारका लागि गत आर्थिक वर्ष मात्र विभिन्न कम्पनीका गरी कुल करिब एक अर्ब कित्ता सेयर सूचीकृत भएका छन् । यससँगै दोस्रो बजारमा सूचीकृत कुल सेयर संख्या ५ अर्ब ८२ करोड ६० लाख कित्ता पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब साढे २० प्रतिशत बढी हो । २०७७ असारमा सूचीकृत कुल सेयर संख्या ४ अर्ब ८२ करोड ७५ लाख कित्ता थियो ।

गएको एक वर्षको अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब १ सय ११ प्रतिशत बढेको छ । २०७७ असारमा १ हजार ३ सय ६२.३५ अंकमा रहेको नेप्से गत असार मसान्तमा २ हजार ८ सय ८३.३८ बिन्दुमा बन्द भएको छ । त्यसो त गत आर्थिक वर्षमै नेप्से ३ हजार बिन्दुभन्दा माथि पुगिसकेको थियो । पछिल्ला एक/दुई सातायता बजारमा करेक्सन भए पनि नेप्से पुनः घटेर २ हजार ८ सय ८३ बिन्दुमा ओर्लिएको हो । गत आर्थिक वर्ष सेयर कारोबारमा उल्लेख्य वृद्धि हुने उपसमूहमा व्यापार परेको छ ।

एक वर्षको अवधिमा यो उपसमूहको परिसूचक सबैभन्दा धेरै ३ सय २५ प्रतिशत बढेको छ । यसअनुसार गत असारसम्म यो उपसमूहको सूचक ३ हजार ७ सय २३ बिन्दुमा पुगेको छ । सोही अवधिमा फाइनान्स उपसमूहको सूचक २ सय ८२ प्रतिशत बढेर २ हजार ५ सय २ बिन्दुमा पुगेको छ । हाइड्रोपावर उपसमूहको सूचक १ सय ९९.३८, अन्यको १ सय ७७.२३, विकास बैंकको १ सय ६९.७६, होटल तथा टुरिजमको १ सय ४२, उत्पादन तथा प्रशोधनको १ सय २५, निर्जीवन बिमाको १ सय २४, माइक्रो फाइनान्सको १ सय १८, जीवन बिमाको १ सय १०, लघुवित्तको ७०, सामूहिक लगानी कोषको ५० र लगानी उपसमूहको सूचक ६ प्रतिशत बढेको नेप्सेको तथ्यांक छ ।

कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले समाचार लेखेका छन् ।