July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

भारतसँगको उडान संख्या थप गर्ने मन्त्रिपरिषद्को निर्णय , अब सातामा ६ उडान

भारतसँगको उडान संख्या थप गर्ने मन्त्रिपरिषद्को निर्णय , अब सातामा ६ उडान

सरकारले भारतसँगको उडान संख्या थप गर्ने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैंठकले भारतसँगको उडान संख्या थप गर्ने भएको हो ।
यससँगै अब नेपाल–भारतबीच सातामा कूल छ वटा उडान हुने भएको छ । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुसार हाल सातामा दुई उडान हुँदै आएको थियो । अव जुलाई २४ बाट कार्यान्वयनमा आउने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।

निगमका अनुसार नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा साताको तीन उडान गर्नेछ । नेपाल एयरलाइन्सले सोमबार, बुधबार र शनिबार उडान गर्ने तय भएको छ । यस्तै एयर इण्डियाले नेपालमा साताको तीन उडान गर्नेछ । कोरोनाभाइरस संक्रमणका कारण भारतलगायत विभिन्न मुलुकसँगको उडान कटौती गरिएको थियो ।

सरकारले विभिन्न देशका राजदूत नियुक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले संसदीय सुनुवाइविनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यान्मा लगायत देशका लागि गरिएको राजदूत नियुक्तिको सिफारिश रद्द भएको छ । यसैगरी अनुदान तथा खरीद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ ।

सरकारका प्रवक्ता कार्कीले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि खोप उत्पादक मुलुकलाई आग्रह गर्ने निर्णय भएको बताए ।

प्रवक्ता कार्कीका अनुसार सरकारले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो । बढुवा सिफारिश समितिले सिफारिश गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्यांकनका आधारमा सहसचिव डा. रामप्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् ।